काठमाडौं, फागुन २७
गृहमन्त्री रामबहादुर थापाले कैलालीको घोडाघोडी नगरपालिकामा भएको घटनामा संलग्न र संरक्षण गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
बिहीबार बोक्सीको आरोपमा लगातार निर्मम रूपमा ६ घण्टासम्म कुटिएकी राधा चौधरीको घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्री थापाले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएका हुन् ।
घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले राधाका पिता जोखन चौधरीको जाहेरीमा प्रमुख अभियुक्त रामबहादुर चौधरी उर्फ भोलेबाबालाई शुक्रबार मात्र प्रक्राउ गरेको थियो ।
तर, घटनामा संलग्न अन्यको नाममा जाहेरी नपरेको भन्दै प्रहरीले उन्मुक्ति दिन खोजेपछि गृहमन्त्री थापाले नै शनिबार महानिरीक्षक अर्याललाई गृहमन्त्रालय बोलाएर घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
घटनामा भोलेबाबासहित अर्की एक पार्वती नाम गरेकी युवतीले लछारपछार गर्दै राधाका संवेदनशील अंगमा निरन्तर कुटपिट गरेकी थिइन् । जसको सामाजिक सञ्जाल तथा जनस्तरबाट ठूलो विरोध भइरहेको छ । साथै घटनाकै दिन स्थानीय जनप्रतिनिधिको रोहोबरमा पीडित पक्षलाई जबर्जस्ती मिलापत्र गराइएको थियो ।
प्रहरीले घटनाको भिडियो आफूहरूसँग सुरक्षित रहेको र त्यसमा कुटपिट गर्दै गरेकी युवतीको खोजीकार्य भइरहेको जानकारी दिएको छ ।
प्रहरीले घटनामा मिलापत्र गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब निरीक्षक दिनेशबहादुर विष्टलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइएको छ ।
उनले घटनाबारे जिल्ला प्रहरी कार्यालयलाई जानकारी नदिएको, पीडकहरूसँग मिलेर घटनामा मिलापत्र गराएको आरोपमा स्पष्टीकरण लिन बोलाइएको बताइएको छ ।
विष्ट दोषी देखिए कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । प्रदेश–७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले बोक्सीको आरोपमा कुटपिट गर्नेविरुद्ध आइतबार जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरिने बताए ।
प्रहरीले सार्वजनिक अपराधअन्तर्गत नभई कानुनमै बोक्सी आरोपमा कुटपिट गरेमा सजायको व्यवस्था भएकाले त्यही कसुरअन्तर्गत मुद्दा दर्ता गराउने उल्लेख गरे । सेती अञ्चल अस्पतालमा उपचार गराइरहेकी राधा मानसिक आघातले विचलित रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।
यता, प्रदेश–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पनि कुटपिट गर्ने व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याइने प्रतिवद्धता जनाएका छन् । ‘घटनामा संलग्न सबैलाई कारबाही गरिन्छ, सबैखाले विभेद, अत्याचार, कुरीतिका विरुद्ध प्रदेश सरकारले कडा कानुन बनाउनेछ ।’ मुख्यमन्त्री भट्टको भनाइ छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले पनि बोक्सीको आरोपमा निर्घात कुटिएर सेती अञ्चल अस्पतालमा उपचाररत राधा चौधरीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
मन्त्री चौधरीले पीडितको उपचारको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने आश्वासनसमेत दिइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।