नयाँ भर्सनबारे अञ्जु पन्तको गुनासो : ओरिजीनल गायिकाको नाम समेत उल्लेख नहुनु दुखद्



काठमाडौँ । गायिका अन्जु पन्तले १५ वर्षअघि गाएको गजल ‘नबिर्से तिमीलाई नपाएँ तिमीलाई…’ यती बेला विवादमा परेको छ ।

गायिका अञ्जु पन्तको स्वर र महेश खड्काको सङ्गीतमा तयार भएको यो गीतलाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवाद भएको हो ।

यस अघि यो गजल सुरूमा अन्जु पन्त र त्यसपछि पुरुष स्वरमा जगदीश समालको स्वरमा रेकर्ड भएको थियो।

निकै चलेको यो गजललाई हाल रचना रिमालको स्वरमा रेकर्ड गराएर ‘रचना रिमाल भर्सन’ भन्दै बजारमा ल्याएपछि यो विवादमा तानिएको हो । नयाँ भर्सनमा न त अञ्जु पन्तको नाम नै उल्लेख गरिएको छ न त यसलाई कभर गीत नै भनिएको छ ।

यसैबिच गीतको गायिका अन्जु पन्तले ओरिजीनल गायक/गायिकाको नाम उल्लेख नगरिनु दुखद् भएको बताएकी छन् । हाल अमेरिकामा रहेकी अञ्जुले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी हुन् ।

उनले लेखेकी छन्– ‘उही सङ्गीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा सङ्गीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौँ भन्ने चिन्ता लागेको छ ।’

उनले भनेकी छन्, यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार सम्बन्धित पक्षले समाधानको उपाय निकाल्ने आशा व्यक्त गरेकी छन् । ‘आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ । भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस्,’  ।

यद्यपि उनले गजललाई नयाँ गायिकालाई फरक भर्सनमा गाउन लगाउनुले आफूलाई दुःख नलागेको बताइन् । ‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ,’   ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्