प्रधानमन्त्रीले अाज विश्‍वासको मत लिने



सैघाली खबर,

फागुन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदैछन्। दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन थालेका हुन्। संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ।

संविधानअनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ। संसदको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष एवं संसदीय दलका नेता ओली माओवादी केन्द्रको समर्थनमा फागुन ३ गते प्रधानमन्त्री बनेका हुन्।

राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्रीलाई समर्थन गर्ने जनाइसकेको छ भने संघीय समाजवादी फोरम नेपालले विश्वासको मत दिने या नदिनेबारे निर्णय गरिसकेको छैन।

दिउँसो १२ बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने फोरमले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने भएको छ।

पार्टी प्रवक्ता भुवन पाठकले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने जनाएका हुन्। प्रधानमन्त्रीको विपक्षमा मत दिने विषयमा कांग्रेसबाहेक अन्य कुनै दलले निर्णय गरेका छैनन्। राष्ट्रिय दलको मान्यता नपाएको राप्रपाले पनि प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। फोरम नेपाल सरकारमा जाने तयारीमा नै भएका कारण पनि निर्णय लिइनसकेको भए पनि पक्षमा मतदान गर्ने बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्