मुगु । पूर्वमन्त्री तथा नेकपा एमालेका संघीय सांसद मोहन बानियाँविरुद्ध प्रहरीमा जबरजस्ती करणीको उजुरी परेको हो । मुगुका समानुपातिक सांसद बानियाँविरुद्ध जुम्लाकी ४० वर्षीया महिलाले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी हुन् । यही माघ १७ गते सोमबार आफूलाई बाँकेको होटल अप्सरामा बोलाएर सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै ती महिलाले उजुरी दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेका अनुसार पीडित भनिएकी महिला र पूर्वमन्त्री समेत रहेका बानियाँबीच लेनदेनको विवाद देखिन्छ । ‘२५ लाख रुपैयाँ दिन्छु भनेर १७ गते होटेलमा बोलाएको र त्यहीं बास बस्न लगाएर आफूलाई सांसद बानियाँले मंगलबार (माघ १८ गते) बिहानी पख जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ,’ प्रवक्ता न्यौपानेले भने ।
बाँनियाँले भने ती महिलाले आफ्नो बद्नाम गर्ने उद्देश्यले यस्तो आरोप लगाएका बताएका छन् । प्रहरीले घटना अनुसन्धानको अनुसन्धान सुरु गरिएको जनाएको छ । पीडित भनिएकी महिलाले चार दिनअघि नै जाहेरी दिए पनि प्रहरीले मुद्दा दर्ता गरेको छैन । आरोपी बानियाँ केपी ओली दोश्रो पटक प्रधानमन्त्री हुँदा मन्त्री समेत बनेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।