प्रदेश ५ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने



सैघाली खबर,

फागुन २७ बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मतका लागि प्रस्ताव गर्ने सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए।

बीस दिनपछि बस्न लागेको संसद बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यसूची संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठकले तय गरेको छ।संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

माघ ७ मा प्रदेशसभामा सांसद्हरुको सपथपछि बसेको एमाले प्रदेश ५ संसदीय दलको पहिलो बैठकले पोखरेललाई निर्विरोध दलको नेता चुनेको थियो। दलको नेता चुनिएका पोखरेललाई फागुन ३ मा प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

८७ जना प्रदेशसभा सदस्य रहेको प्रदेश ५ मा मतदानका लागि पोखरेलको पक्षमा बहुमत अर्थात् ४४ मत प्राप्त हुनुपर्छ। एमालेको ४१ र माओवादीका २० गरी ६१ सांसद्को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई पाँच सांसद् रहेको संघीय समाजवादी फोरम र एक सांसद् रहेको राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्