टप फिचर

नारायणघाट–बुटवल सडक : स्वीकृतभन्दा पाँच सय गुणा बढी रुख कटान

By Thaha - Online

February 12, 2022

काठमाडौं। दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी सङ्ख्यामा रुख कटान गरिएको छ।

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रवारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार पहिलो चरणमा ५७६ र दोस्रो चरणमा ४४० प्रतिशत बढी रुख काटिएको पाइएको हो।

बैठकले बढी रुख काट्न स्वीकृति दिनेमाथि कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकका निर्णयबारे जानकारी दिँदै समितिका सभापति कल्याणी कुमारी खड्काले आवश्यकताभन्दा बढी रुख काटिएकाले आयोजनाको काम नै प्रभावित हुन पुगेको ठहर भएको बताए।

उनले डीपीआरभन्दा गलत आँकडा पेस गर्ने र उक्त कार्यलाई स्वीकृत गर्ने पदाधिकारीहरूमाथि १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए। आजको गोरखापत्र दैनिकमा समाचार छ।