सैघाली खबर,
काठमाडौँ, २७ फागुन । कैलालीको घोडाघोडी नगरपालिका(५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई गरिएको कुटपिट घटना छानबिन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन गरेका छन्।
प्रधानमन्त्रीका सूचना प्रेषक रामशरण बजगाईंले आइतबार विज्ञप्ति जारी गरी कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिइसकेको उल्लेख गरेका छन्।
घटना घटेको जानकारी पाउनासाथ प्रधानमन्त्री कार्यालयले यस विषयमा चासो प्रकट गर्दै तत्काल कारबाहीको पहल गरिएको बताइएको छ। हालसम्म प्राप्त विवरणअनुसार फागुन २४ गते बिहीबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेको खवर बाहिर आएको छ।
प्रहरीले निज रामबहादुर चौधरीलाई छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारबाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएको जानकारी प्राप्त भएको छ(विज्ञप्तिमा उल्लेख गरिएको छ, मानवताविरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइनेछैन।
हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकाय अग्रसर भइसकेको छ।
नेपाललगायत विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको दिन नै घटेको उक्त गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको विज्ञप्तीमा उल्लेख छ। यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको उल्लेख छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।