सत्ता गठबन्धन विभाजित, एमालेको भत्काउने दाउ



काठमाडौँ । सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबिच शनिवार बालुवाटारमा भएको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष तीन नेता आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो । देउवा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा टेबल गर्न जोड दिएपछि प्रचण्ड र नेपालले सत्ता गठबन्धनभित्र साझा धारणा निर्माण नभई अगाडि बढे गठबन्धन भत्किन सक्ने चेतावनी दिनुभएको थियो । तर, प्रधानमन्त्री देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गर्न र त्यहीँबाट छिनोफानो गर्न आग्रह गर्नुभएको थियो । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमसीसी संसद्मा टेबल गर्न नहुने अडान दोहर्‍याउनु भएको थियो ।

जवाफमा प्रधानमन्त्री देउवाले संसद्मा सबै दलले धारणा राख्न पाउने भएकाले एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने अडान दोहोराउनुभएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्