काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै मन्त्री खतिवडाको राजीनामा माग गरेका हुन् ।
एमालेले खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनको अभिव्यक्ति गैर जिम्मेवार रहेको र यस्तो झुटो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै एमालेले राजीनामा मागेको हो ।
यसअघि मन्त्री खतिवडाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयमले कोरोनाको पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ भनेको एमाले स्वास्थ्य विभागले बताएको छ । भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्य मन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ ।’
‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्य मन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म सङ्घीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ वर्षका खतिवडाले ब्याच नम्बर ४१२० जेड ००४को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति हेर्नुहोस् :
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।