प्रदेश ३

एमसीसी टेबुल गर्न अर्थमन्त्रीले मानेनन्

By Thaha - Online

February 16, 2022

काठमाडौं। सर्वाधिक विवादित अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई सरकारका तर्फबाट संसदमा टेबुल गर्न अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अस्वीकार गरेका छन्।

झण्डै चार बर्षदेखि संसदमा पेश हुन नसकेको एमसीसी आज पेश हुँदैछ। शुरुमा अर्थमन्त्रीले नै हस्ताक्षर गरेको सम्झौता भएकाले संसदमा अर्थमन्त्रीले पेश गर्ने कार्यक्रम भए पनि अर्थमन्त्री शर्माले पार्टीको नीतिविपरीत संसद पेश नगर्ने भएका हुन्।

प्रधानमन्त्रीले अर्थमन्त्रीलाई नै सम्झौता पेश गर्न भने पनि उनले नमानेपछि अब सञ्चारमन्त्रीले पेश गर्ने कार्यक्रम बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री शर्मालाई फोन गरेर एमसीसी पेश गर्न आग्रह गरेका थिए। ‘तत्कालीन अर्थमन्त्रीले गरेको सम्झौता हो, त्यसैको निरन्तरताका लागि वर्तमान अर्थमन्त्रीका रूपमा तपाईंले टेबल गर्नुस्’ बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको भनाइ थियो।

तर शर्माले भने पार्टीले फरक मत राखेकाले पेश गर्न नसक्ने बताएका थिए। शर्माले अस्वीकार गरेपछि प्रधानमन्त्रीले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टेबल गर्ने जिम्मेवारी दिएका छन्। अर्थमन्त्री रहेकै बेला २०७४ मा कार्कीले सम्झौतामा हस्ताक्षर गरेका थिए।

एमसीसीबारे सरकारमा सहभागी दलहरूबिच फरक फरक धारणा देखिएको छ। सरकारको नेतृत्व गरेको दल कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने माओवाद िकेन्द्र र एकीकृत समाजवादी यथास्थितिमा पारित गर्न नहुने पक्षमा छन्। जनमोर्चा नेपाल एमसीसी खारेजीको पक्षमा देखिएको छ। एमसीसीमा जसपा भने विभाजित छ।