भालुवाङ ४ फागुन । देउखुरीबाट २ जना बन्धकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बिहान ९ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सडक र बजार बन्द गराउँदै हिँडेका विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २ जना कार्यकर्तालाई ईलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही पार्टीका राप्ती गाउँपालिका वडा नम्बर ३ का सेक्रेटरी अशोक चौधरी र अखिल क्रान्तिकारीका विद्यार्थी नेता मनोज केसी रहेका छन् । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै विप्लवले नेतृत्वको नेकपा सहित ५ राजनीतिक दल र १ मोर्चाले संयुक्त रूपमा दाङ सहित नेपाल बन्द गरेका छन् । बन्द कारण देउखुरीका मुख्य बजारहरू भालुवाङ, लालमटिया, सिसहनियाँ, लमही, गढवा बजार पुर्णरूपमा बन्द रहेको छ भने ।
छिटपुट मोटरसाइकल बाहेक लामो तथा छोटो दुरीका सवारी साधनहरू चल्न सकेका छैनन् । विभिन्न ठाउँबाट भालुवाङ सम्म आइपुगेका गाडीलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पठाउने गरेको छ । त्यस्तै शैक्षिक संस्थाहरू पनि बन्द भएका छन् ।बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि बजारका चोकहरूमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ । बन्द साँझ ५ बजे खुल्ने भएको छ ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जन गणतान्त्रिक मोर्चाले नेपाल बन्द गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।