काठमाडौं । सभामुख अग्नि सापकोटाले आजको संसद् बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय सुनाएका छन् ।
सभामुखको सचिवालय स्रोतका अनुसार कार्य व्यवस्था परामर्श समितिको आजको बैठकमा दलहरूबिच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् ।
बैठकमा कानुनमन्त्री दिलेन्द्र बडुले एमसीसी टेबल गर्नुपर्नेमा जोड दिएका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले एमसीसीका प्रावधान संशोधन बिना पेश गर्न नहुने अडान राखेका थिए । बैठकको अन्त्यमा सभामुख सापकोटाले सहमति नजुटेको भन्दै आज एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सुनाएका हुन् ।
बैठकमा नेपाली काँग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रेखा शर्मा, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका उमाशङ्कर अरगरियाको उपस्थिति रहेको थियो।
नेकपा एमाले र जसपा भने बैठकमा उपस्थित भएको थिएन।
एमसीसी सम्झौता पारित हुन नदिन माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृसंगठन सडकमा विरोध गरिरहेका छन्। संसद्मा नरहेका वाम घटकहरु पनि एमसीसीको विपक्षमा उभिँदै नेपाल बन्दको घोषणा गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।