काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँ बानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका हुन् ।
बानेश्वरमा भइरहेको प्रदर्शनमा श्रेष्ठ सहभागी भएको जनाउँदै उनका सहयोगी सुरेशकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत तस्बिर सार्वजनिक गरेका छन्।
माओवादी संसदीय दलको बिहान बसेको बैठकले एमसीसी यथास्थितिमा पेस र पारित गर्न नहुने जबरजस्ती गरिए गठबन्धन तोडेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।
माओवादी केन्द्रका वाईसीएल, अखिल क्रान्तिकारी लगायतका भ्रातृ संस्थाहरू बिहानैदेखि नयाँबानेश्वर क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन्। सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी, राप्रपा, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले पनि प्रदर्शन जारी राखेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।