काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे संसद्ले नै फैसला गर्ने बताएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक नेपाली काँग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)को लोकार्पण कार्यक्रममा देउवाले एमसीसीबारे संसद्ले पास या फेल जे गरे पनि आफूले स्वीकार गर्ने बताएका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी संसदमा पास र फेल के हुन्छ थाहा छैन । ‘हामी एमसीसीको पक्षमा छौँ । हाम्रो पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेका छौँ । त्यसका लागि मैले पहल गरिरहेको छु’ देउवाले भने ।’
साथै ,एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको भन्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुदान नेपालको हितमा रहेको दाबी गरे । ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिनुपर्छ ।
पछिल्लो समय एमसीसीलाई लिएर दलहरू विभाजित भएका छन् । सत्ता सहकार्य गरिरहेका दलहरु नै यसमा एकमत छैनन् । जसले गर्दा गठबन्धनको भविष्यमा पनि अन्योलता छाएको छ। आजै बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।