काठमाडौँ। सरकारले काठमाडौँको माइतीघरदेखि बानेश्वर चोकसम्म ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ।
विभिन्न पार्टीहरूले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम राखेपछि सरकारले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो।
शुक्रवार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरू राखिएका हुन्। बुधवार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने विभिन्न पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबिच झडप भएको थियो।
एमसीसी अनुमोदन गर्ने कुरामा सत्तारुढ दलबिच मतभेद रहेको छ। सत्तारुढ पाँच दलमध्ये नेपाली काँग्रेस अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ भने नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।