भालुवाङ ७ फागुन । नेकपा एमालको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको राप्ती गाउँपालिका स्तरीय युवा भेला तथा बृहत् मोटरसाइकल र्याली आज देउखुरीको राप्ती गाउँपालिका—२, लालमटियामा सम्पन्न भएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपाल राप्ती गाउँपालिका अध्यक्ष मनोज चौधरीको अध्यक्षता एवम् युवा सङ्घ नेपालका केन्दिय सदस्य गोपाल नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरू अब नेपाली युवाहरूलाई श्रम संग जोडेर आर्थिक समृद्धको बाटोमा अघि बढाउनु पर्ने बताएका थिए । उनीहरूले युवाहरू बिना देश परिवर्तन सम्भव नभएको समेत बताएका थिए ।
युवा सङ्घका राप्ती गाउँपालिका उपाध्यक्ष निरज थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेकपा एमाले दाङ जिल्ला सदस्यहरू हरि बेल्बासे, मेनुका शर्मा, पार्टीका राप्ती गाउँपालिका अध्यक्ष मदन अधिकारी, सचिव भरतमणि न्यौपाने, ८ नम्बर वडाध्यक्ष गोकणर्बहादुर राना, पार्टीका राप्ती गाउँपालिका सदस्यहरू शोभाकर भुसाल, हिमानन्द पाण्डे, र हरिचन्द्र चौधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
युवा भेलाको औपचारिक कार्यक्रम शुरु हुनु अघि युवा सङ्घका नेता, कार्यकर्ताहरूको विशाल मोटरसाइकल र्यालीले शान्तिनगर चैते देखि सिङ्गेखोला सम्म विभिन्न नारा लगाउँदै परिक्रम गरेको थियो । कार्यक्रमको सञ्चालन युवा सङ्घका राप्ती गाउँपालिका सचिव सुर्वणशम्शेर राउतले गर्नु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।