राष्ट्रपतिमा पुनः भण्डारी



सैघाली खबर
काठमाण्डौ , २९ फागुन । राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छिन् । उनी लगातार दोस्रो कार्यकालका लागि राष्ट्रपति भएकी हुन् । मं‌गलबार भएको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा मंगलबार भएको निर्वाचनमा ८६२ जनाले मत खसालेका थिए।
आयोगका प्रवक्ता ढकालका अनुसार संघीय संसद् ३२६ र प्रदेशसभाका ५३६ जनाले मतदान गरे। मतदानको समय बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको थियो।

कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता थिए।

भण्डारी सत्तारूढ वाम गठबन्धनको समर्थनमा राष्ट्रपति बनेकी हुन्। राई विपक्षी नेपाली कांग्रेसको समर्थनबाट राष्ट्रपतिको उम्मेदवारी बनेकी थिइन्।

 

कस्तो छ भण्डारीको विगत ?
दोस्रो कार्यकालका लागि निर्वाचित भण्डारीको नाममा नेपालको पहिलो महिला राष्ट्रपतिको इतिहास लेखिएको छ। २०७२ कात्तिक ११ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भण्डारी त्यसअघि एमालेको दुई कार्यकाल उपाध्यक्ष, सांसद र मन्त्री भइसकेकी व्यक्ति हुन्।

दासढुंगामा मारिएका एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी भण्डारी पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिइन्। तर, उनको राजनीतिक सक्रियता भने श्रीमान्‌को निधनपछि अझै बढ्यो। श्रीमान्‌को निधनपछि २०५० सालमा काठमाडौं–१ को उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हराएपछि उनी एमाले राजनीतिको फ्रन्टलाइनमा आइन्।

महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्ष हुँदै उनले एमाले भातृ संगठन अनेम संघको अध्यक्षको भूमिका समेत निर्वाह गरिन्। एमालेको आन्तरिक समिकरणभित्र सधैं भण्डारी केपी ओलीको समूहमा संलग्न रहिन्। त्यसैले ओली एमालेको नेतृत्वमा आएपछि भण्डारीका लागि राजनीतिक वातावरण अनुकूल भयो। त्यसैले नयाँ संविधान जारी भएपछिको संक्रमणकालीन अवस्थाको राष्ट्रपतिका लागि ओलीले नै पार्टीमा भण्डारीको नाम अघि सारे।

राष्ट्रपति भएपछि भण्डारीको प्रत्यक्ष दलीय आवद्धता त समाप्त भयो, तर शितल निवास र ओली निवासको दूरी भने घटेन। भण्डारीका काममा ओलीले समर्थन गरिरहे र कतिपय काममा ओलीको मनस्थितिअनुसार भण्डारीले आफ्ना गतिविधि गरिन्। त्यही सम्बन्धको सुमधुरतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भण्डारीले विश्वासमा लिन सफल भइन्। जसको परिणाम उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेकी छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्