शिक्षामन्त्रीको ऐतिहासिक निर्णय, शिक्षकका ५१ बुँदे माग पूरा (सहमतिको पूर्णपाठ)



फागुन ९ गते, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासङ्घका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ। सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र शिक्षक महासङ्घका प्रतिनिधिबिच माग कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।

सहमति पत्रमा हस्ताक्षर गर्दै मन्त्री पौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकहरूका मागहरू कार्यान्वयन गर्ने सहमति भएको बताए। “शिक्षकहरू पहिल्यैदेखि आन्दोलनरत हुनुहुन्थ्यो,” मन्त्री पौडेलले भने, “म पदमा बहाली भएपछि पनि उहाँका मागका विषयमा गम्भीर छलफल गरी कार्यान्वयन गर्ने विषयमा सहमति भयो।”

सार्वजनिक शिक्षा सुधार्न मन्त्रालय र महासङ्घले सङ्कल्प गर्नुपर्ने बताउँदै उनले आफ्नो अधिकारसँगै दायित्व पनि भुल्न नहुनेमा जोड दिए।

“आज ऐतिहासिक दिन हो, मन्त्री पौडेलले भने, “महासङ्घले उठाएका धेरै विषय सम्बोधन भइसकेका छन् ५१ बुँदे प्रतिवेदनबाट बाँकी रहेका कामहरू कानुनसम्मत ढङ्गले लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

कात्तिक २८ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेल र नेपाल शिक्षक महासङ्घका सह अध्यक्ष पूर्णप्रसाद ढाडीसहितको गठित कार्यदलले अध्ययन गरी कार्यान्वयनयोग्य सुझाव पेस फागुन १ गते पेस गरेको थियो। सोही अनुसार आज मन्त्रालय र महासङ्घबिच ५१ बुँदे माग कार्यान्वयन गर्ने विषयमा सहमति भएको हो।

महासङ्घले कुल बजेटको २० प्रतिशत शिक्षाका लागि छुटाउनुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था गर्नुपर्र्नेे, शिक्षा विकाश तथा समन्वय इकाइको नाम परिर्वतन गरी जिल्ला शिक्षा कार्यालय राख्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोगको व्यवस्था गर्ने, एक पटक आन्तिरिक परीक्षामा सामेल हुन नपाएका अस्थायी र करार शिक्षकलाई नियमनुसार शिक्षक सेवा आयोगमार्फत् उमेरको हद नलाग्ने गरी आन्तिरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिनेलगायतका माग राखेको छ।

यस्तै, द्धन्द्धपीडित, पेशागत आन्दोलनमा नेतृत्व गरेका शिक्षक तथा कर्मचारी व्यवस्थापनका सम्बन्धमा छानबिन समति वा आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने, महिला शिक्षकको प्रसुति विदा ६ महिना कायम गरी उक्त अवधिमा सट्टा शिक्षकको व्यवस्था गर्ने लगायत विषय कार्यान्वयन गर्ने प्रतिवेदनमा समेटिएको नेपाल शिक्षक महासंघकी अध्यक्ष कमलादेवी तुलाधरले जानकारी दिए।

शिक्षकहरूका सम्पूर्ण माग पूरा भएसँगै सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्रमा विशेष रूचि राख्ने पौडेल शिक्षामन्त्रीमा चयन भएसँगै शैक्षिक क्षेत्रमा केही नमुनायोग्य काम हुने अपेक्षा गरिएको थियो, जुन अपेक्षा अन्ततः पौडेलले पूरा गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्