एमसीसीको नाममा उपद्रो मच्याउने काम भइरहेको छ: महासचिव पोख्रेल



लमही । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले पाँच दलिय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको बताएका छन् । दाङको लमहीमा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी परियोजनाको बारेमा सरकार भित्रै दोहोरो चरित्र देखाउने काम भएको र त्यसको विरोध एमालेले गरिरहेको बताएका छन् ।‘सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने हो । प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुइटा कुरा बोक्ने कुरा स्वीकार्य हुदैन’उनले भने–‘नेकपा एमालेले भनेको छ पहिला सरकारको दृष्टिकोण के हो ? सरकारले दुइटा कुरा गर्न मिल्दैन ।’

एमसीसीको नाममा मुलुकमा एक प्रकारको उपद्रो मच्याउने काम भइरहेको टिप्पणी उनको छ । एमसीसीको मस्यौदा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेलामा तयार पारिएको बताए । तर, अहिले उनीहरू एमसीसी विरोधी भएको देखाउन नाटक गरिरहेको टिप्पणी गरे ।‘शेरबहादुर देउवा संग बसेर एमसीसी कसरी पास गर्ने भनेर उनीहरू छलफल गर्छन्, बैठक गर्छन् । बाहिर आफ्ना कार्यकर्तालाई ढुंगामुढा गर्न लगाउँछन् । यस प्रकारको गाईजात्राले नेपालको वामपन्थी आन्दोलन जनताको नजरमा कमजोर पार्ने खालको काम माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट भइरहेको छ भन्ने कुरा बुझन जरुरी छ’उनले भने–‘त्यही सत्ताले एमसीसी सम्झौता गर्न लगाउँछ । त्यही सत्ताले एमसीसीको विरुद्धमा सडकमा उत्रेर जनतालाई अलमल्याउने काम गर्न खोज्छ ।’

मुलुक संगिन मोडमा उभिएको टिप्पणी गर्दै उहाँले पाँच दलिय गठबन्धन बनाएर पार्टी नेतृत्व र पार्टीका विरुद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको बताए । ‘हामी जनताको साथमा त्यस प्रकारको घेराबन्दीलाई सामना गर्दै पार्टीलाई मुलुकको सबैभन्दा ठुलो शक्तिको रूपमा स्थापित गर्ने सङ्कल्प र अठोटका साथ निरन्तर रूपमा अघि बढेका छौँ’उनले भने–‘पाँच दलिय गठबन्धन चुनाव सम्म गठबन्धन गरेर जाने भन्छन् तर चुनावको मिति तोक्ने भन्दा थरर काप्ने गर्छन् । हामी एक्लै संग पाँच दलिय गठबन्धन डराई राखेको बताए । पार्टीका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता एवम् पार्टीका केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री शङ्कर पोख्रेलको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, एमाले दाङका इन्चार्ज  नरूलाल चौधरी, नवप्रवेशी दिपक यादव, मोहन पाण्डे ( शङ्कर), पार्टीका जिल्ला उपाध्यक्ष राममणी पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको  कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्