एम्बाप्पेलाई अनुबन्ध गर्नेमा रियल म्याड्रिड ढुक्क




काठमाडौं । फ्रान्सका स्टार खेलाडी किलियान एम्बाप्पेलाई अनुबन्ध गर्नेमा रियल म्याड्रिड ढुक्क रहेको र सिजनको अन्त्यमा यसको औपचारिक घोषणा गर्ने क्लबको तयारी रहेको गोल डटकमले जनाएको छ। एम्बाप्पे गत सिजन नै रियल जान चाहन्थे। यसका लागि उनले प्रयास पनि नगरेका होइनन्। तर उनी हाल आबद्ध रहेको पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लबले प्रस्तुत गरेका सबै प्रस्तावहरूलाई अस्वीकार गरेको थियो।

फ्रेन्च क्लबले २३ वर्षीय खेलाडीलाई उनको करारको अन्तिम वर्षमा रोक्न सफल भए पनि नयाँ करार सम्झौताका लागि उनलाई फकाउन भने सकेको छैन। नयाँ करार नभए जुन महिनाको अन्त्यमा उनी फ्रि-एजेन्ट बन्नेछन् र उनी जुन पनि क्लब जानका लागि स्वतन्त्र हुनेछन्। पीएसजीले एम्बाप्पेलाई करार थपका लागि थुप्रै अफर प्रस्तुत गरे पनि उनले क्लबसँग नयाँ सम्झौता गर्न अस्वीकार गर्दै आइरहेका छन्।

गोल डटकमका अनुसार गत वर्ष करार गर्न असफल भएपछि एम्बाप्पेले रियललाई आगामी सिजन क्लबमा आउने वाचा नै गरेका थिए। त्यही भएर स्पेनिस महारथी एम्बाप्पे आफ्नै क्लबमा आउनेमा निश्चिन्त भएर बसेको छ। रियलले यसबारे घोषणा गर्न कुनै हतारोमा नगर्ने र सिजनको अन्त्यपछि मात्र यसबारे घोषणा गर्ने रणनीतिमा रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्