बुटवल। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीमा सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। सरकारमा बसेर दुई थरी दृष्टिकोण बनाउन नमिल्ने उनको भनाइ छ। बुधबार बुटवलमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एमसीसी संसदमा टेबुल गर्ने भनेर भित्र सहमति गर्ने तर, सडकमा गाईजात्रा देखाएर भ्रम सिर्जना गरी जनतालाई विभाजित गर्ने काम भइरहेको दाबी गरे।
सरकारमा रहेकाहरूले नै स्पष्ट दृष्टिकोण बनाउन नसक्दा एमसीसी परियोजना विवादित बनेको उनको भनाई छ। ‘संसदभित्रको रमिता हेर्दा गाईजात्राजस्तै लाग्छ, सत्तामा सहभागी एउटा पक्ष प्रस्ताव टेबल गर्छ, अर्को सत्ता पक्ष सरकारका विरुद्ध सडकमा ढुंगामुढा गर्छ, यस्तो रमिता कहीँ हुन्छ ?,’ उनले प्रश्न गरे।
पोखरेलले विगतका तथ्यहरूले एमसीसी परियोजना नेपालको निरन्तर प्रयासपछि आएको पुष्टि भए पनि एमसीसी परियोजना भित्र्याउन आफैं लागिपरेकाहरू अहिले एमसीसीमा विरोधी भएको देखाउन नाटक गरिरहेको बताए। ‘झलनाथ खनाल प्रधानमन्त्री हुँदा नेपालले एमसीसीमा आफ्नो हकदाबी गरेको थियो। पुष्पकमल दाहाल प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा नेपालमा एमसीसीको आधार तयार गरिएको थियो। शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुँदा हस्ताक्षर भएको थियो। तर अहिले उनीहरू नै सरकारमा छन् र उनीहरूले नै एमसीसीका बारेमा रमिता देखाइरहेका छन्,’ पोखरेलले भने।
उनले सरकारले एमसीसी पारित गर्न एमालेसँग सहयोग मागेको भए पनि संसदका गतिविधिमा भाग लिन एमालेले राखेका मागहरू सम्बोधन गर्नुपर्ने र माग सम्बोधन नहुँदासम्म एमालेले एमसीसीको विषयमा कुनै धारणा नदिने स्पष्ट पारे। ‘एमालेले कारबाही गरेका १४ जना सांसदहरूलाई सांसद पदबाट नहटाएसम्म एमालेले कुनै पनि धारणा दिँदैन, संसदमा छलफल अगाडि बढाउन पहिले हाम्रा माग सम्बोधन हुनुपर्यो, गैरसांसद राखेर संसद चलाउन सकिँदैन,’ पोखरेलले भने, ‘गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।