प्रदेश ३

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारको आग्रह

By Thah Online

February 23, 2022

काठमाडौं। सरकाले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेको छ। रुस युक्रेन संकट चुलिँदै जाँदा परराष्ट्र मन्त्रालयले युक्रेनमा बसोबास गर्दै आएका वा भ्रमणमा जाने नेपालीहरूका लागि सूचना जारी गरेको छ। मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै अति आवश्यक काम भए बस्न नत्र स्वदेश फर्कन आग्रह गरेको छ।

‘युक्रेनमा रहनु भएका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्नुभई अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ ’ विज्ञप्तिमा भनिएको छ ‘साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ।’

युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ। त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनको ठेगानमा सम्पर्क गर्न पनि मन्त्रालयले भनेको छ।

युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि युक्रेन संकट चुलिएको छ। अमेरिकासहित पश्चिमा देशहरूले रुसमाथि विभिन्न प्रतिबन्धहरू लगाइरहेका छन् भने युक्रेनमाथि रुसले आक्रमण गर्ने सक्ने त्रास फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।