प्रदेश ३

एमसीसी नेपालको हितमा छ, पारितहोस् भन्ने चाहन्छौं : थापा

By Thah Online

February 24, 2022

काठमाडौं। नेकपा एमालेका नेता कर्णबहादुर थापाले एमसीसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेता थापाले एमसीसी सम्झौता नेपालको हितमा रहेको दाबी गरे। उनले एमसीसी सम्झौता राष्ट्रघाती भएको भनेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको बताए।

उनले भने, ‘जहाँसम्म एमसीसीको प्रावधानको विषयमा हाम्रो दृष्टिकोण छ, यो सडकमा प्रचार गरेजस्तो, त्यस प्रकारको सम्झौता होइन। यो विकास परियोजना हो। कुनै विदेशीलाई गाली गरेर राष्ट्रवादी भइन्छ भन्ने चिन्तनबाट एमाले मुक्त छ। यो जो अन्तर्राष्ट्रिय सहयोग छ, यो नेपालको हितमा छ। यो राष्ट्रघाती छ भनेर भएको प्रचारमा कुनै सत्यता छैन। यसमा हामी स्पष्ट छौं। एमालेले पास गर्ने कि फेल गर्नेबारे केही भन्न जरुरी छैन। सरकारले एमसीसी पेश गरिसकेको छ। सरकाले पेश गरेको प्रस्ताव फेल गर्छु भन्नु अनैतिक कुरा हो। उहाँहरूले सरकार छोडेपछि एमालेले निर्णय गर्छ।’

अहिलेको सरकारले सदनमा पेश गरेका कुनै पनि बिजनेसहरू सरकारमा सहभागी भएका दलहरू नै बढी जिम्मेवार हुने उनको भनाई छ। उनले एमसीसीलाई लिएर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को भूमिकालाई लिएर कडा आपत्ति जनाए।

उनले भने, ‘सरकारमा उनीहरू किन सामेल भएका त ? एमसीसी कार्यान्वयन भयो भने अमेरिकी सेना आउँछ भनेर भनिएको छ, कसले भन्यो अमेरिकी सेना आउँछ भनेर ? यो गलत हो। एमसीसीको पैसा सुरक्षामा प्रयोग गर्न पाइँदैन भनेर सम्झौतामा स्पष्ट रूपमा भनिएको छ। एमसीसी नेपालको कानूनभन्दा माथि छैन। यो सम्झौताबारे भ्रम सिर्जना गर्नुहुँदैन। एमसीसीबारे दफावार छलफल गर्नुपर्‍यो नि। कुनै परियोजना अघि नबढाउने ? भ्रमपूर्ण कुरा सिर्जना गर्नुहुँदैन। नेपालको राजनीति भनेको जिम्मेवार राजनीति हुनुपर्छ। उत्तरदायी लिनुपर्छ। विषयवस्तु छरिदिने अनि निर्णयमा पुग्न नदिने। निर्णयमा पुग्न नदिएपछि विषयवस्तु छरियो। यो गलत हो।’

कुनै विषयवस्तु उठाइदिने अनि आफ्नो विषय लगेर भ्रम सिर्जना गरिरहने र त्यसको नाममा राजनीति गर्ने काम भइरहेको भन्दै उनले गुनासो पोखे। उनले भने, ‘एमालेको चाहना के हो भने अब एमसीसीको विषयमा लामो छलफल र बहस भयो। भोलिबाट संसदमा छलफल हुन्छ। निर्णयमा को कहाँ उभियो ? भन्ने कुरा अब मतदान भएपछि थाहा हुन्छ। भ्रम राख्नु हुँदैन। अन्योलमा राख्नुहुँदैन। जनता ठगी गर्नुहुँदैन। सरकारको निरन्तरता हो भने एमसीसीको पक्षमा माओवादी र नेकपा (एकीकृतले पनि मतदान गर्नुपर्‍यो नि। एमसीसीको पक्षमा भोट नहाल्ने भए प्रचण्ड र माधव नेपालले सरकार छोड्नुपर्छ। अहिले १४ जना गैरसांसद छन्। यसकारण हामीले संसद् अवरुद्ध गरेको हो। ढाँटेर, छलेर अबको राजनीति चल्दैन। जनतालाई ठग्ने काम नगरौं।’