सांसद चौधरीलाई किन बाँधियो साङ्लोले ?



काठमाडौं, ३० फागुन

काठमाडौंस्थित वीर अस्पतालमा उपचारका लागि भर्ना भएका सांसद चौधरीलाई साङ्लो लगाई गोडामा बाँधेर उपचार गरिएको समाचार बाहिर आएको छ ।

आमरण अनशन तोड्न नमानेका सांसद रेशम चौधरीलाई साङ्लोले बाँधेर उपचार गरिएको जनता पोष्ट दैनिकले समाचार छापेको छ ।

लामो समयदेखि अनशनरत चौधरीको स्वास्थ्य अवस्था बिग्रेपछि थप उपचारका लागि हालै वीर अस्पताल लगिएको छ ।

चौधरी राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेर सांसदमा विजयी भएका थिए । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत नेताहरु चौधरीको अवस्था बुझ्न अस्पताल पुग्दा उनलाई साङ्लोमा बाँधेर राखिएको खुलेको हो ।

साङ्लोमा बाँधेर राखिएको अवस्थामा चौधरीलाई देखेपछि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी आक्रोश पोखेका थिए । ‘हामी आउँदा त जञ्जिरमा बाँधेर राखिएको अवस्था छ भने हाम्रो परोक्षमा चौधरीको कस्तो व्यवहार भइरहेको छ ?’, भन्दै ठाकुरले प्रधानमन्त्री ओलीसित फोनमा आक्रोश पोखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्