Banner Second

प्रहरीले नै रगत दिएर बचाए आन्दाेलनकारीको ज्यान

By Thah Online

February 26, 2022

अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्ध नगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेलधुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएका थिए ।

प्रदर्शनकारीले प्रहरीलाई हानेको इँटा अचानक अवस्थीलाई पछाडिबाट लागेर गम्भिर घाइते भएपछि उनलाई प्रहरीले उद्धार गरी नयाँबानेश्वरको एभरेस्ट अस्पताल पुर्‍याएको थियो । इँटा लागेर उनको टाउकोको हड्डी फुटेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले प्रदर्शनकारी घाइते भएको सूचना पाउनासाथ नजिकैको प्रहरी टोलीलाई उद्धार गर्न निर्देशन दिइएको बताए । उनले भने, “घाइतेको टाउको पछाडि चोट लागेकाले प्रदर्शनकारीले नै हानेको हुनुपर्छ । यद्यपि यसबारे हामी अनुसन्धान गरिरहेका छौँ ।”

बुद्ध नगरमा घाइते भएका अवस्थीलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । टाउकोमा गहिरो चोट लागेर बेहोस हुनुभएका उनलाई थप उपचारका लागि एभरेस्ट अस्पतालबाट राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पताल पुर्‍याइएको थियो । ट्रमा सेन्टरमा समेत उपचार हुन नसकेपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । न्युरो अस्पतालले तत्काल शल्यक्रिया गर्न रगत आवश्यक पर्ने जानकारी दिएको थियो । घाइतेको रगत समूह  ओ नेगेटिभ रहेको र उक्त समूहको रगत अभाव देखिएपछि प्रहरीले उपत्यकाभरका प्रहरी कार्यालयमा सन्देश पठायो । प्रहरी गण नम्बर–१ नक्साल काठमाडौँमा कार्यरत २३ वर्षीय प्रहरी जवान सामीनाथ यादवले अस्पताल पुगेर रक्तदान गरे र शल्यक्रिया सफल भयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।