टप फिचर

राष्ट्रिय राजनीतिमा छिट्टै नयाँ ध्रुविकरण हुन्छ : बादल

By Thah Online

February 26, 2022

सुर्खेत। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई सांसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद् सुचारु हुन नदिने बताएका छन्। एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणमा उपाध्यक्ष थापाले यस्तो बताएका हुन्।

देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरू सबै दल अर्कोतर्फ ध्रुवीकृत भएको कार्यक्रममा उपाध्यक्ष थापाले दाबी गरे। ‘एमालेले हटाएका १४ सांसदको सूचना टाँस गरिए मात्र एमसीसीलगायतका विषयमा संसदीय प्रक्रियामा भाग लिन्छ।’ उनले भने, ‘जनादेशको सरकारलाई हटाएर परमादेशबाट बनेको सरकारले देशलाई आर्थिक रुपमा संकटतर्फ धकेलेको र न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकामा अराजकता फैलाएको छ।’

एमाले विगतको एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै निरन्तरताको पार्टीका बुझ्नु पर्ने उनको भनाइ छ। ‘जनताको अपार मायाको कारण एमाले मुलुकमा सबैभन्दा शक्तिशाली पार्टी बनेको हो,’ उनले भने, ‘एमालेले अघि सारेको विकास र समृद्धिको महान् यात्रालाई कुनै पनि शक्तिले रोक्न सक्दैन।’