काठमाडौं। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिद्ध्याउने गम्भीर आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अङ्ग बनाएर सिद्ध्याउने काम गरेको तर आफूहरूले बचाएको दाबीसमेत गरे ।
शनिवार काठमाडौँमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डोप्यासेफिक रणनीतिको अङ्ग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरूले विरोध गरेपछि अमेरिकाले हटाएको बताए। एमसीसीलाई यथास्थितिमा पास गर्न नसकिने पनि उनले बताए।
नेपालले भने, ‘एमसीसी कहाँ-कहाँ जोडिएको छ त ? यो इन्डोप्यासिफिक अङ्ग बनाएर आएको छ। यो अङ्ग बनायो कसले ? वामपन्थी भनिने केपी ओलीको आफ्नै मन्त्री प्रदीप ज्ञवालीले गएर नेपाललाई इन्डोप्यासिफिक रणनीतिको अङ्ग बनाउने कागजमा सही गरेर आए। त्यसपछि नेपाल त्यसको अङ्ग बन्यो। पछि श्रीलंकाको नाम काटियो। नेपालको नाम रह्यो। जब नेपालमा त्यसको हामीले जोडदार विरोध गर्यौं। त्यसैको कारण अहिले बल्ल त्यसमा नेपालको नाम काटिन पुगेको छ। यो नेपाली जनताको सङ्घर्षबाट भएको हो। केपी ओलीले सिद्ध्याइसकेका थिए, नेपाललाई इन्डोप्यासिफिक अङ्ग बनाउनका लागि। केपी आएपछि त फेरि सिध्याइदिन्छन्। फेरि बनाइदिन्छन। त्यो हुनाले हामी रह्यौँ भने त्यो बन्दैन।’
यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि उनले दोहोर्याए। ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे।