Banner Second

युक्रेनबाट नेपालीले पाठ सिकौं : नारायणकाजी श्रेष्ठ

By Thah Online

February 26, 2022

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले युक्रेन घटनाबाट शिक्षा लिनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले नेपालले आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै युक्रेन घटनाबाट समेत शिक्षा लिनुपर्ने उल्लेख गरेका छन्। अमेरिकाले युक्रेनको छिमेकी रुसविरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व विसर्जनको दुःखद घटना उत्पन्न भएको नेता श्रेष्ठको भनाइ छ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र आत्मनिर्णयको सम्मान गर्न र आक्रमण अन्त्य गरी युक्रेनबाट फिर्ता हुन रुससँग माग गरेका छन्। ‘रुसले युक्रेनमाथि गरेको आक्रमण र अतिक्रमणको हामी तीव्र भर्त्सना गर्दछौँ। युक्रेनको राष्ट्रिय सार्वभौमिकता,भौगोलिक अखण्डता र आत्मनिर्णयको सम्मान गर्न र आक्रमण अन्त्य गरी युक्रेनबाट फिर्ता हुन रुससँग माग गर्दछौँ,’ नेता श्रेष्ठले लेखेका छन्, ‘सार्वभौमिक समानता र विश्व शान्तिको पक्षमा उभिन सबैसँग अपिल गर्दछौँ।’

श्रेष्ठले युक्रेन घटनाबाट कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा उत्पन्न हुन सक्ने रहेछ भन्ने शिक्षा प्राप्त भएको बताएका छन्।

‘युक्रेन घटनाबाट शिक्षा: कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा उत्पन्न हुन सक्ने रहेछ,’ श्रेष्ठले भनेका छन्, ‘यस प्रकरणमा अमेरिकाले युक्रेनको छिमेकी रुसविरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण,युद्ध र अस्तित्व विसर्जनको दुःखद घटना उत्पन्न भयो। नेपालले आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै यस घटनाबाट समेत शिक्षा लिन सक्नु पर्दछ।’