काठमाडौं। अमेरिकी सहायता परियोजना (एमसीसी)बारे तयार भएको व्याख्यात्मक घोषणा पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ। सत्ता गठबन्धनमा जुटेको सहमतिअनुसार तयार भएको व्याख्यात्मक घोषणा अनुमोदनका लागि आज मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
मन्त्रिपरिषद्बाट व्याख्यात्मक घोषणा पास गरेर संसदबाट अनुमोदन गराउन मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। प्रतिनिधिसभाको पहिलो बैठकपछि मन्त्रिपरिषद् बस्न लागेको हो।
दिउँसो १ बजेदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने छ। सैद्धान्तिक छलफल सकिएर निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको दोस्रो बैठक बस्ने छ। प्रतिनिधिसभाको दोस्रो बैठक बस्नु अगाडि मन्त्रिपरिषद् बैठक बस्ने र एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा अनुमोदन हुने बताइएको छ।
मन्त्रिपरिषद्ले व्याख्यात्मक टिप्पणी पास गरेर पठाएपछि त्यसलाई सम्झौताको पूरक प्रस्तावको रूपमा प्रतिनिधिसभामा पेस गरिनेछ। संसदबाट व्याख्यात्मक टिप्पणी पास गरेपछि परराष्ट्र मन्त्रालयमार्फत यसको जानकारी अमेरिकालाई दिइनेछ।