प्रेस विज्ञप्ति
फागुन १६,काठमाडौं। एमसीसी र संसदको घोषणाबारे हाम्रो निष्कर्श तथा अबको आन्दोलनको बाटो
वास्तविक अपराधीले अदालतबाट चाहिँ सफाइ पाएर उम्किएजस्तो, एनसेलको कर अदालतबाटै छुट पाएजस्तो कथित बहुमतबाट देशघाती एमसीसी षडयन्त्रपूर्वक विदेशीबाट सञ्चालित संसद नामक राष्ट्रघातीहरुको जमघटका वीच पारित भएको घोषणा भएको छ । तथापि जनताको आन्दोलनको बलमा एउटा व्याख्यात्मक घोषणा टालटुल रुपमै भए पनि आन्दोलनले उठाएका विषयहरुलाई समेटेर सार्वजनिक गरिएको छ । त्यो व्याख्या अन्तराष्ट्रिय करार कानुनका दृष्टिमा अर्को पक्षका लागि मान्य नहुन सक्ने छ । तर, अमेरिकाले सो कुरा नउठाउन सक्ने छ किनकि उसले नेपालमा जसरी पनि आफ्नो स्वार्थ लागू गर्नु पर्ने भएकोले आफ्नै पूर्व अडानको समेत विपरित चुपचाप बस्न सक्ने छ ।
एमसीसी पास गर्दाको संसदभित्रको दृष्य नेपालको संसदजस्तो थिएन, त्यो अमेरिकाको र इण्डियाको संसदजस्तो थियो । त्यहाँ अधिकांश सांसदहरु नेपालका सांसदजस्ता थिएनन् अमेरिकन र इण्डियन सांसदहरुजस्ता लाग्दथे । उनीहरुले पटक पटक यो देशले सबैदेशसँग मागेर खानुपर्छ अब अरु देशहरुसँग पनि क्रमशः माग्दै जानुपर्छ शब्द नै प्रयोग गरेर बोलिरहँदा नेपालको शीर निहुरिएको थियो । हामी सोप्रति घोर भत्र्सना र घृणा व्यक्त गर्दछौं । हालसम्म आएका सबै सहयोगहरु यिनहरु मिलेर आफू मात्र धनी बनेर जनताको टाउकोमा ऋणको भारि थपिरहेका छन् ।
बहुमतले गरेको निर्णय सधैं सत्य हुँदैन । अझ शुरुवातमा त सत्य सधैं अल्पमतमा रहेको हुन्छ । एमसीसी सम्झौतामा नेपालले इण्डियन सरकारसँगको सम्मतिमा मात्र काम गर्नु पर्ने लगायत धेरै देशधाती प्रावधानहरु उल्लेख भएकोमा सो बारेमा घोषणामा नबोली अझै कायमै रहेकोले नेपालको स्वाधीनताको अन्त्यको शुरुआत संसद स्वयमले गरेको छ । संसदबाटै र जनताबाट चुनिएका भनिएकाहरुले नै देश नै अर्को देशमा विलय गराएका उदाहरणहरु विश्वमा धेरै छन् । यो नेपालको संसदले गरेको एमसीसी पास र घोषणा पनि त्यसैको निरन्तरता हो । सो को नेपाली जनताले सदैव विरोध मात्र होइन खारेजीका लागि अझै बलिदानीपूर्ण लडाइँ लडिरहने छन् । यस्तो सम्झौताको पक्षमा रहेका सबै राजनीतिक दल र सांसदहरु विरुद्ध जनताबाट कारवाहीको क्रम दीर्घकालिक रुपमा अब शुरु हुने छ । उक्त सम्झौतामा देशघाती बुँदाहरु छन् तर सम्झौतामा जे लेखिएको भए पनि अक्षरले जे बताए पनि हाम्रो बुझाइ त्यो भन्दा फरक रहने छ भन्ने सहमति मात्र व्याख्यात्मक घोषणामा गरिएको हुनाले सो घोषणा स्वयममा नै लम्पसारवादको निकृष्ट उदाहरण हो भन्ने प्रमाणित भएको छ ।
आन्दोलनका कारण त्यति घोषणासम्म सार्वजनिक गर्न बाध्य भने भएकोले आन्दोलनको आंशिक सफलता चाहिँ प्राप्त भएको छ । यसका लागि आन्दोलनमा सहभागिता जनाउनु भएका सबै पक्ष र जनता जनार्दनमा हामी हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दछौं । हामी उन्नत लोकतन्त्र पार्टीका नेता कार्यकर्ता २० जना साथीहरु उपर एमसीसीको विरोध गर्दा लगाइएका २ वर्षअघि देखिका ५ वटा झुठा मुद्दाहरु अझै विचाराधीन रहेकोमा उक्त मुद्दाहरुको तत्काल खारेजी तथा घाइतेहरुको उपचारका लागि समेत जोडदार माग गर्दछौं ।
संसदले जेसुकै घोषणा गरे पनि नेपालको सरकारले अन्य देशको सरकारसँग अनावश्यक विषयमा सम्मति लिएर मात्र काम गर्नु पर्ने व्यवस्था नेपालको संविधान विपरित भएकोले एमसिए नेपालले अनावश्यक रुपमा राजपत्रमा सूचना प्रकाशित गरी कूटनीतिक मान्यता सरहका उन्मुक्ति पाएको तथा नेपालको अदालतको क्षेत्राधिकार कुण्ठित गर्नेसम्मको क्षेत्राधिकार ग्रहण गरेकोमा सोविरुद्ध समेत हामी सर्वोच्च अदालतमा कानुनी लडाइँ लडिरहेका छौं । आजैको मितिमा समेत सो विषयमा सुनुवाइका लागि पेशी तोकिएको छ । उक्त विषयलाई अदालतले जसरी लिए पनि अबका आन्दोलन तथा विद्रोहका कार्यक्रमहरु आजै बस्ने बैठकले निर्णय गर्ने समेत जानकारीका साथ अन्त्यमा हामी अझै देशभक्तिपूर्ण लडाइँमा नेपाली जनतालाई साथ समर्थन र सहयोग दिनुहुन हार्दिक अपिल गर्दछौं ।
अध्यक्ष
स्वागत नेपाल
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।