काठमाडौँ। शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्नै नदिन खोजेको तर नसकेको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ओलीले वर्तमान सरकार ढल्नैपर्ने पनि धारणा राखेका छन्।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रधानमन्त्री देउवा नेतृत्वको सरकार ढाल्नै खोजेको र ढल्नैपर्ने बताए। ‘एमालेले गठबन्धन ढाल्न खोज्यो, गठबन्धन स्वीकारेन, गठबन्धन मन पराएन भन्नु नयाँ कुरा होइन। यो असंवैधानिक, परमादेशी सरकार हो,’ उनले भने, ‘यो सरकार बन्नै नदिन खोज्या हो, ढाल्न खोज्नु नयाँ कुरा भयो र ? बन्नै नदिन खोजेको हो।’
संविधान उल्लङ्घन गरेर वर्तमान सरकार गठन गरिएको ओलीको भनाइ थियो। उनले देउवाको नेतृत्वमा सरकार हुनु संविधानको लागि उल्लङ्घन भएको आरोप लगाए। काङ्ग्रेससँग पछिल्लो समय भएका छलफलमा आफ्ना अडान स्पष्ट राखेको पनि उनको भनाइ थियो।
‘हामीले नेपाली काङ्ग्रेससँग हाम्रा अडान छोड्छौँ भनेका थिएनौँ। लोकतन्त्रका आधारभूत प्रश्न, मूल्य, मान्यता, प्रणाली र संविधानको रक्षाका लागि मूलभूत रूपमा सहमति, समझदारीका साथ जाउँ भनेका हौँ। लोकतन्त्रका लागि बलिदान गरेका एमाले र काङ्ग्रेसबिच समझदारी हुनुपर्छ भनेका हौँ। त्यो सदैव भनेका थियौँ र अहिले पनि विश्वस्त छौँ।’
ओलीले ताजा जनादेशमा जानुपर्ने पनि धारणा राखेका छन्। उनले वर्तमान सरकार २०७४ सालको निर्वाचनको जनादेश विपरीत भएको बताए। मुलुकमा अर्थतन्त्र, सुरक्षा व्यवस्था ठिक नभएको उनको आरोप थियो।
कान्तिपुर दैनिकमा खबर छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।