युवा मानसिकताको व्यवस्थापन आवश्यक छ : मन्त्री अथक



काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सहि ढंगले व्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताएका छन्। राष्ट्रिय युवा परिषदको ७ औं स्थापना दिवसको अवसरमा सानोठिमी भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले देश निर्माणका लागि युवाजन्य मानसिकताको व्यवस्थापन आवश्यक रहेको बताएका हुन्।

परिषदका अध्यक्ष समेत रहेका मन्त्री अथकले युवाहरुलाई असल कार्यका लागि मानसिक रुपमै तयार गर्नुपर्ने बताए। नेपालमा तीन थरीका युवाहरु रहेको जिकिर गर्दै मन्त्री अथकले भने, “एकथरी स्वदेशमै केही गरेर सफल भएका, अर्कोथरी विदेश गएर सिप सिकेर आएका र नेपालमै केही गर्न चाहने युवा छन भने स्वदेशमा केही गर्न नसकेर आफ्नै जिवनदेखी निराश भएका तेस्रो थरी युवाहरु पनि हाम्रै समाजमा छन्।”

उनिहरुलाई एउटै शुत्रमा बाँधेर नयाँ जिवन कसरी देखाउन सकिन्छ भन्ने तर्फ सबैले ध्यान दिनुपर्ने मन्त्री अथकको भनाई थियो। युवाहरुलाई नेतृत्व तहमा पुर्याउने आधार तयार गर्न युवा परिषदले विगतदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै मन्त्री अथकले आदर्श जिवनका लागि युवा उमेरदेखि नै सत्कार्यको अभ्यास हुने खालको वातावरण तयार गर्ने दायित्व राज्यको भएको बताए। अबका युवाहरुले व्यवस्था परिवर्तनका लागि कुनै संघर्ष गर्नुपर्ने अवस्था नरहेकाले उद्यमशिल कार्यमा ध्यान दिन समेत मन्त्री अथकले आग्रह गरे।

युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा युवा अभियन्ता तथा युथ भिजन २०२५ निर्माण कार्यदलका सदस्य प्रदिप परियारले युवाको अवस्था, चुनौती र अवसर विषयक कार्यपत्र पेश गरेका थिए। उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै विभिन्न वक्ताहरुले सुझाव समेत दिएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्