काठमाडौँ ३० फागुन । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ । सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरी बुधबार पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ ।
पत्रमा भनिएको छ, ुसम्माननीय महोदयको ६५ पैसट्ठी वर्षको उमेर २०७४।४।२१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरीय निर्णयअनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु।
पत्रमा न्याय परिषद्ले पराजुलीको परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार प्राप्त पत्रको आधारमा समेतको आधार उक्त निर्णय लिइएको उल्लेख छ।
न्याय परिषद्ले एेन, २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारणाले अवकाश हुने भएमा सो को जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनु पर्ने छ भन्ने प्रावधान रहेको उल्लेख गर्दै उक्त जानकारी गराएको छ।
पत्र राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रलाय, निजामति किताव खानालाई पठाइएको छ।
त्यसैगरी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीकपराज जोशी, न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिक र रामप्रसाद सिटौलालाई पनि बोधार्थ पठाइएको छ।
इजलासका एक वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर जबराले पराजुलीले २०७४ साउन २१ गते अवकाश पाइसकेको भन्दै आफू उनको नेतृत्वको इजलासमा बस्न अस्वीकार गरेका थिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।