काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने भएको बताएका छन्। पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताएका हुन्।
प्रचण्डले गठबन्धन चुनावसम्मै जाने निश्चित भएको भन्दै देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएको एक नेताले बताए। गठबन्धन बनाउँदा एमसीसीलाई शर्तको रुपमा नराखेको भन्दै प्रचण्डले साझा नीति कार्यक्रममा पनि एमसीसी नराखिएको बताए।
प्रचण्डले भने, ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो। तीन वटा मूलभूत कुरा भनेका संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्ट्रियताको रक्षाको उद्देश्यका साथ बनेको सरकार रहने वा नरहेने हो भन्ने थियो, त्यसमा एमसीसीका विषयमा भएका मतमतान्तरका कारण थिए।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।