दाङ । तुलसीपुर उपमहानगर पालिकाका मेयर घनस्याम पाण्डेका छोरा ठेकेदार अनुप पाण्डेलाई ६ करोड रूपैया ठगिको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काठमाडौंमा लुकिछिपी बस्दै गरेको सुराकीका आधारमा शनिवार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले पक्राउ गरेको हो । उनीविरुद्ध ६ करोड ठगी गरेको भन्दै विभिन्न ब्यक्तीहरुले जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए ।
पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको सिबिआई का डिआईजी धिरज प्रताप सिँहले जानकारी दिए । पाण्डेले दाङको तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा पाएका थिए । ठेकेदार पाण्डे बिरुद्ध १६ जनाले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।
पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका गेहेन्द्र बस्नेतले एक करोड ४४ लाख ठगी गरेको भन्दै गत माघमा जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।
छोराविरुद्ध उजुरी परेपछि एमालेका केन्द्रीय सदस्य समेत रहेका मेयर घनश्याम पाण्डेले बस्नेत लगायतसँग छलफल गरेपनी छोराको आरोप लुकाउन भने सकेनन् । उनले छलफल गरेर विवाद साम्य पार्ने प्रयास गर्नुका साथै पैसा तिर्ने वचन समेत दिएका थिए । तर, पैसा नपाएपछि बस्नेतले अनुपले दिएको चेकको प्रमाणसहित प्रहरीमा उजुरी दिएका थिए ।
पीडित व्यक्तिको जाहेरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुरुप अनुप पाण्डे पक्राउ परेको प्रहरीले बताएको छ ।