सपुतको गितकै कारण उत्तेजित हुनुपर्दैन ,पक्षविपक्ष हुन्छ – प्रचण्ड



धनगढी विमानस्थलमा सोमबार पत्रकारहरूसँग बोल्दै अध्यक्ष दाहालले भने, ‘गीतकै कारण उत्तेजित हुन पर्दैन । पक्ष-विपक्ष हुन सक्छ । यसलाई सहज रूपमा हेर्नुपर्छ ।’

कलाकार र सर्जकहरूले आफ्नो दृष्टिकोणअनुसार विभिन्न रचना गर्ने भन्दै उनले सपुतको गीतले एउटा विचारको प्रतिबिम्ब गरेको प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मानिसहरूले आफ्नो अनुभव, आफ्नो अनुभूतिअनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रूपमा कसैले चर्चा गर्‍यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’

दाहालले ‘जनयुद्ध’बाट शान्ति पक्रियामा आउनु हुने थियो कि थिएन भनेर पनि बहस भइरहने र यो धेरै वर्षसम्म जारी रहने बताए । उनले आफू कतार र मलेसिया जाँदा ‘जनयुद्ध’मा सामेल भएका लडाकुहरू दुःख गरेको भेटेको समेत बताए । उनले भने, ‘म कतार मलेसिया जाँदा जनयुद्धमा रहेका लडाकुहरू दुःखपूर्ण जीवन बिताएको पाएँ । दुःख पाएको भए पनि उहाँहरूले हामी विचलित छैनौँ, आवश्यक परेमा फेरि त्याग गर्न तयार समेत रहेको बताउनुभएको थियो । ‘

तत्कालीन ‘जनयुद्ध’मा उत्पीडित वर्गले केही पाएको पनि उनले बताए । ‘जनयुद्धमा उत्पीडित वर्गले केही अधिकार पाएको भन्ने पक्ष पनि छ । कसैले यसबाट बर्बाद भइयो पनि भनेका छन् । त्यस बेला महिलाहरूमा वीरता र कीर्तिमानका पक्ष पनि छन् । राज्यबाट उनीहरूमाथि अत्याचार र दमन भएका पक्ष छन् । त्यसैले यस(गीत)मा उत्तेजित हुन कोही पर्दैन । यसमा पक्ष/विपक्ष हुन सक्छ ।’

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल धनगढी आइपुगेका हुन् ।

गीतको पक्ष विपक्षमा सामाजिक सञ्जालमा चर्को बहस चलिरहेका बेला कान्तिपुरलाई प्रतिक्रिया दिँदै गायक सपुतले हरेक दिन टेलिभिजनका पर्दा र पत्रपत्रिकाका पानामा देखिएका दृश्यलाई गीत/सङ्गीतमा बुन्नु कसरी अस्वाभाविक भयो भनेर प्रश्न गरेका छन् । ‘पिरले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताका लागि सँगै लडेका कमरेडहरूबिच बढ्दै गएको असमान दुरी देखाउन मात्रै खोजेको हो । यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा समीक्षा लेखिँदै/पढिँदै आएको होइन र ?’ उनको प्रश्न छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्