काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपाल घरेलु टोली युएईविरुद्ध ४८ रनले पराजित भएको छ। जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो। पहिलो खेलमा नेपाल पीएनजीविरुद्ध विजयी भएको थियो।
यूएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ३५.१ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो। उसका लागि रोहितकुमार पौडलले सर्वाधिक ४६ रन बनाए। त्यस्तै, ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अं कमा समेत रन जोड्न सकेनन्।
युएईका लागि वासिल हमिदले चार, जुनैद सिद्दिकीले तीन, जहुर खान रोहन मुस्तफाले एक/एक विकेट लिए। त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाएर १ सय ६८ रन बनायाे।
उसका लागि चुन्दगापोयल रिजवान र रोहन मुस्तफाले ४०/४०, मोहम्मद वसीमले २१, कासिफ दाउदले १८, वासिल हमिदले १४ र अहमद रजाले १३ रनको योगदान दिए।
नेपालका लागि बलिङमा सोमपाल कामीले सर्वाधिक चार विकेट लिए। त्यस्तै, करण केसीले तीन, कप्तान सन्दीप लामिछाने, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट हात पारे।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।