नेपाल प्रहरीमा तीन पदमा बढुवा प्रक्रिया सुरु



काठमाडौं। सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ। सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो। यो प्रक्रियामा प्रहरीका तल्ला तहमा रहेका तीन तहका २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ। बढुवा प्रक्रिया बिहीबारबाट नै सुरु भएको हो।

सरकारले प्रहरी नियमावली, २०७१ को नवौँ संशोधनमार्फत जवान र हबलदारको बिचमा प्रहरी सहायक हबलदार, हबलदार र प्रहरी सहायक निरीक्षकको बिचमा प्रहरी वरिष्ठ हबलदार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बिचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरेको थियो। यी नयाँ सिर्जना गरिएका पदमा एकैपटक बढुवा गर्न कार्यसम्पादन मूल्याङ्कन चाहिने भएकाले पहिलो पटकलाई वरिष्ठताका आधारमा बढुवा गर्ने प्रक्रिया थालिएको गृह मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ।

उनका अनुसार प्रहरी नायब निरीक्षकबाट प्रहरी वरिष्ठ नायब निरीक्षकमा १ हजार ४ सय १८ जना, प्रहरी हबलदारबाट प्रहरी वरिष्ठ हबलदारमा ३ हजार ७ सय ४८ जना र प्रहरी जवानबाट प्रहरी सहायक हबलदारमा १५ हजार २ सय ५३ जना बढुवा हुनेछन्। यीमध्ये पहिलो चरणमा बिहीबार प्रहरी वरिष्ठ नायब निरीक्षकमा १ सय ९१ जना, प्रहरी वरिष्ठ हबलदारमा १ हजार १ सय ७३ जना तथा प्रहरी सहायक हबलदारमा १ हजार ७ सय ५२ जना बढुवा सिफारिस भएका छन्। यो समाचार आजको राजधानी दैनिकमा छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्