सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैन : माधवकुमार नेपाल



काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन्। अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुआत भइसकेको उल्लेख गर्दै सूर्य चिह्न नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गरेका हुन्।

एकीकृत समाजवादीनिकट मजदुरहरूको सङ्गठन एकीकृत ट्रेड युनियन महासङ्घ नेपालले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कलम चिह्न लिएर दोस्रो चरणको राष्ट्रियसभा निर्वाचनमा पनि जीत हासिल गरेको स्मरण गराए।

कसै कसैले पार्टी भित्रैबाट सूर्य चिह्न नहुँदा अप्ठ्यारो पर्छ कि भनेर भन्ने गरेको उल्लेख गर्दै उनले अप्ठ्यारो होइन कलम चिह्न लिएर जीतको सुरुआत भइसकेको बताए। अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जीत हासिल गर्न आफूहरूले वाम–लोकतान्त्रिक शक्तिसँग मिलेर जाने विषयमा छलफल भइरहेको बताए।

‘हामीले विजयको सुरुआत पनि र्गर्यौं। राष्ट्रिय सभाको चुनावमा पहिलोपटक हामीले हाम्रो उम्मेदवारलाई जितायौँ र जितायौँ पनि कसरी भने ठ्याक्क त्यो उम्मेदवारले स्वतन्त्र उम्मेदवारको हैसियतले कलम चिह्न लिनुभएको थियो र कलम चिह्नको जीतको सुरुवात गरेर अगाडि बढेका छौँ। त्यसो हुनाले कसै कसैलाई लाग्ला – सूर्य चिह्न नभएको हुनाले अप्ठ्यारो पर्छ कि भनेर। अप्ठ्यारो होइन हाम्रो जीतको सुरुआत भइसकेको छ,’ नेपालले भने।

उनले अगाडि थपे, ‘कलम चिह्नले जित्न थालिसकेको छ र दोस्रो चोटि त झन् एकीकृत समाजवादीको नाममा हामीले कलम चिह्न बोकेर १९ वटा राष्ट्रियसभा सदस्य चुनावमा पनि उपस्थिति जनायौँ र हाम्रा सबै उम्मेदवारलाई जितायौँ। एउटाबाहेक सबैलाई जिताएर देखाएका छौँ। अब फेरि हामी चुनावमा उत्रिनुपर्नेछ । वैशाख ३० गतेको चुनावको तयारीमा, स्थानीय तह निर्वाचनको तयारीमा हामीले जुट्नुपर्नेछ। यो जुट्ने सन्दर्भमा वामपन्थी सक्तीबिच मिलेर जाने, लोकतान्त्रिक शक्तिहरूसँग पनि मिलेर जाने विषयमा छलफल भइरहेको छ।’

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञा समेत दिएका छन्। त्यसले सरकारमा हुँदा पनि गफबाहेक अरू केही पनि काम नगरेको उनले बताए। उनले आगामी दिनमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न र नेताहरूलाई गाउँ केन्द्रित हुन निर्देशन समेत दिएका छन्। राजधानीमा खबर छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्