नवलपरासी पश्चिमका ८६ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप यही २२ गतेदेखि लगाइने



नवलपरासी पश्चिम- नवलपरासीमा चैत २२ देखि ३० गतेसम्म टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेको ७ स्थानीय तहमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ । बहु वर्षीय खोप कार्य योजनाको लक्ष्यअनुसार यही चैत २२ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । यही चैत २२ गतेदेखि देशैभर सुरु हुन गइरहेको खोप अभियान कार्यक्रम अन्तर्गत जिल्लाका ८६ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय परासीका मलेरिया इन्स्पेक्टर एवं कोभिड-१९ जिल्ला फोकल पर्सन देवी पौडेलले जानकारी दिए । टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा लगाउन लागिएको उनले बताए । केही विद्यालयमा बालबालिकाहरूको परीक्षा सञ्चालन भएकोले केही पालिकामा अघिपछि मितिमा टाइफाइड रोगविरुद्धको खोप लगाइने उनको भनाइ छ ।

यो खोपको भायलमा भिभिएम रहेको तथा एक भायलमा पाँच मात्रा रहेको रङविहीन तयारी झोलको रूपमा एक जनालाई शून्य दशमलव पाँच एमएलमा दिइने भएको छ । यो खोप १५ महिनादेखि २३ महिनाको बच्चालाई बाँया तिघ्राको बीच बाहिरी भाग र २ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई बाँया पाखुराको बीच बाहिरी भागमा लगाइने भएको हो । नवलपरासी पश्चिम जिल्लामा ८ दिनको अभियान सञ्चालन गरेर खोप पुर्ण रुपले दिइसक्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरी खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ । यसै गरी प्रतापपुर गाउँपालिकाको स्वास्थ्य शाखाले टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवातका लागि पालिका स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरूका लागि पालिका स्तरीय एक दिने अभिमुखीकरण तथा योजना गोष्ठी प्रतापपुर स्वास्थ्य चौकीमा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे लगाएता वडा अध्यक्ष हेमेन्द्र कुमार पंजियार, कादिर अलि अन्सारी, त्रिभुवन सिंह, जन्त्री चौरसिया, इश्वरी चौधरी, दिवाकर चौधरी, एवम् विद्यालयका प्रधानाध्यापक र स्वास्थ्यकर्मीहरू र पत्र कारको सहभागिता रहेको थियो । प्रतापपुर गाउँपालिका भित्र रहेका उमेर समूहका सम्पूर्ण बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिइने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्