पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त



एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ। अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ। अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन्। अन्तिम समयसम्म सङ्घर्षरत खानको विपक्षमा बहुमत सांसदले मतदान गरेका थिए।

यो सँगै नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद् बैठक बस्ने भएको। अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल-एन का अध्यक्ष शाहबाज शरीफले आज पाकिस्तानमा संविधान र कानूनको पुनः स्थापित भएको दाबी गरे।

अध्यक्ष शाहबाज शरीफले आफूहरूले कसैसँग बदला नलिएको भएर कानुनले आफ्नो काम गरेको स्पष्ट पारे। यसअघि गत आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै मतदानकै दिन खारेज गरिदिएका थिए।

अविश्वास प्रस्ताव खारेज गरेर संसद् अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद् विघटन गर्न सिफारिस गरेका थिए।

इमरान खानले आफूलाई सत्ता बाहिर निकाल्न अमेरिकाको नेतृत्वमा षड्यन्त्र रचिएको दाबी गरेका थिए। उनले कुनै पनि नयाँ सरकारलाई स्वीकार गर्न अस्वीकार गरेका थिए।

पाकिस्तानमा कुनै पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो अवसर पनि हो। अब सोमबार पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चुन्नेछ। नयाँ प्रधानमन्त्रीले आगामी चुनाव अर्थात् अक्टोबर २०२३ सम्म आफ्नो कार्यभार सम्हाल्नेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्