लहान । सप्तरीको खडक नगरपालिकामा विवाहमा जन्तीसँगै ल्याइएको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी एक दलित युवाको ह’त्या भएको छ ।
वडा नम्बर ४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको विराटनगरमा उपचारको क्रममा बुधवार बिहान मृ’त्यु भएको हो । सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा गत सोमवार राति जन्ती आएको थियो ।
डिजे बाजासहित आएको जन्तीलाई विवाह स्थल पुग्नु अगाडी आफूहरूलाई डिजे बाजामा नाच्न दिनुपर्यो भन्दै गाउँका केही गैर दलित युवाले केही समय जन्तीलाई रोकेका थिए । वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाह स्थल तर्फ जान आग्रह गरेका थिए । ‘हामीहरूलाई अझै नाच्नु छ, केही बेर अझै पर्खनु’ भन्दै गैर दलित युवाहरूले जन्तीलाई रोक्न रोजेपछि विवाद बढेको थियो । नाच्न पुगेका युवाहरूले बेहुली पक्षकालाई गाली गलौच सुरु गरेपछि सन्तलाल समेतले युवाहरूलाई विवाद नगर्न भनी सम्झाई बुझाई गर्न खोजेका थिए ।
जन्ती बेहुली घरतर्फ गएको केही समयपछि हुल बाँधेर पुगेका युवाहरूको जथाले सन्तलाललाई नियन्त्रणमा लिएर टाउकोमा इट्टाले निर्घात कुटेपछि उनको अवस्था गम्भीर बनेको बुवा राम अषिश पासवानले बताएका छन् ।दलित अगुवा राजदेव रामले स्वतन्त्र उम्मेदवार खडा गरेकै निहुँमा सन्तलालको हत्या गरिएको बताए । ‘स्वतन्त्र उम्मेदवार बन्नु हरेक नेपाली नागरिकको अधिकार हो’, उनले भने, ‘उम्मेदवार खडा गरेकै निहुँमा सन्तलाललाई चौधरी समुदायका व्यक्तिहरूले धाक धम्की दिएका थिए । तर, उनीमाथि आक्रमण गरी हत्या भएको छ । यो अक्षम्य घटनाको प्रशासनले सूक्ष्म अनुसन्धान गरी दोषमाथि कडा कारबाही गर्नुपर्छ ।’उनका अनुसार खडक नगरपालिकाको ४ नम्बर वडामा ७/८ सय दलित मतदाता छन् । आफूहरूकै बाहुल्यता रहेको वडामा कुनै पार्टीले उम्मेदवार नबनाएको भन्दै दलित समुदाय असन्तुष्ट थिए ।स्वतन्त्र उम्मेदवारी दिएका दलित युवक महादेव दास भन्छन्, ‘उम्मेदवारी दिएर घर फर्केको राति टोलमा तीन ठाउँमा जन्ती आएको थियो । डिजे बाजाको विषयमा झगडा भयो । मलाई उम्मेदवार बनाएपछि केही व्यक्ति रिसाएकै थिए ।’
विवेकै दिन सोमवार आफ्ना छिमेकी महादेव दास (तत्मा)ले वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विषयलाई समेत लिएर गैर दलित युवाहरूले आफ्नो छोरामाथि आक्रोश पोखेको उनको आरोप छ । ‘तिमी दलितहरू बढी राजनीति गर्न थाल्यौँ ?’ भनेर धम्क्याउँदै छोरामाथि जाइलागेको उनको भनाई छ ।
उनले विवेक चौधरी, दिलीप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी, गोविन्द चौधरी, दिनेश चौधरी लगायतले छोरालाई कुटेको जानकारी दिएका छन् । घाइते सन्तलाललाई उपचारका लागि लहानस्थित सप्त ऋषि अस्पताल लगेपछि त्यहाँ उपचार हुन नसक्दा विराटनगरस्थित नोबेल अस्पताल फु¥याइएको थियो ।
उपचारकै क्रममा बुधवार बिहान सन्तलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । कुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा एक जनालाई नियन्त्रणमा लिइएको बताउँदै प्रहरी नायव उपरीक्षक काफ्लेले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए ।
उपचार क्रममा सन्तलालको मृ’त्यु भएपछि आक्रोशित गाउँलेहरूले बुधवार बिहानदेखि पूर्व पश्चिम राजमार्ग अमहा चौकमा ३ घण्टा चक्काजाम गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरेर पीडितलाई न्याय दिने भन्नेमा सहमति हुँदा राजमार्ग सुचारु भएको हो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।