काठमाडौं। दार्चुलाका नौवटै स्थानीय तहमा मतगणना जारी छ। केही वडामा भने अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। ९ पालिका मध्ये २०७२ को चुनावमा एमालेले जित हात पारेका पालिकाहरूमा एमाले पछि परेको छ। माओवादी केन्द्रले चारवटा पालिकामा अग्रता लिएको छ।
अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र लेकम गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको हो। चार पालिकामध्ये मार्माबाहेक अरु तीन पालिका यसअघि नेकपा एमालेले जितेका पालिका हुन्।
अपिहिमालमा माओवादीका भगत सिंह ठेकरेले अग्रता लिएका छन्। ६ सय ९८ मतगणना हुँदा ठेकरे ३ सय ८५ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार धर्मानन्द मन्यालले २ सय २४ मत प्राप्त गरेका छन्। यस्तै मार्मामा नेकपा माओवादी केन्द्रका जमन धामीले एमालेका देवसिंह महरलाई पछि पारेका छन्।
नौगाडमा माओवादी केन्द्रका दलजित सिंह धामीले एक सय मतको अन्तरले एमालेका प्रेम धामीलाई पछि पारेका छन्। त्यस्तै लेकम गाउँपालिकामा माओवादीका रामदत्त जोशी १ सय २५ मतान्तरले एमालेको उम्मेदवार परमान्द जोशीभन्दा अगाडि छन्।