एमालेबाट मन्त्री बन्नेहरुको लबिङ शुरु, को को छन् त लाइनमा ?



काठमाण्डौ
चैत्र २/संघीय समाजवादी फोरम नेपालले सरकारमा आउने निर्णय गरेसँगै ओलीले सरकार विस्तारको तयारी थालेका छन् ।

हाल सात सदस्यीय रहेको मन्त्रिपरिषद्लाई विस्तार गरेर सरकारको कामलाई पूर्ण क्षमतामा अघि बढाउने उद्देश्य साथ ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेसँगै मन्त्रीका आकांक्षी पनि बढ्न थालेका हुन् ।

प्रधानमन्त्री ओलीले सुरुमा मन्त्रिमण्डल बनाउँदा लालबाबु पण्डित र थममाया थापालाई रोजेका थिए ।

त्यसपछि दोस्रो चरणमा डां युवराज खतिवडा र ईश्वर पोख्रेल मन्त्री बने। उनीहरुसँगै माओवादी केन्द्रबाट रामबहादुर थापा र मातृका यादवले मन्त्री बन्ने अवसर पाए ।

एमालेबाट को को

प्रदेश १

ओली मन्त्रिमण्डलमा पर्नका लागि प्रदेश १ बाट एमालेका सांसदहरुले तीब्र लबिङ गरिरहेका छन् । प्रदेश १ बाट एमाले सचिव तथा ताप्लेजुङबाट निर्वाचित योगेश भट्टराई, पाँचथरका सांसद वसन्त नेम्बाङ र त्यसैगरी मोरङ ३ का सांसद तथा पार्टी पोलिटब्युरो सदस्य भानुभक्त ढकालको नाम चर्चामा छ ।

निर्वाचनअघि प्रचारका क्रममा ताप्लेजुङ पुगेका ओलीले ‘योगेशलाई जिताएर पठाउनू मन्त्री बनाउने काम मेरो’ भन्दै भाषण गरेका थिए। तर, एमालेभित्रको चर्को गुटगत राजनीतिले अहिले योगेशको मन्त्री बन्ने सम्भावना कम्जोर भएको छ ।

शीर्ष नेताहरूले अब विश्राम लिनुपर्ने भन्दै दिएको अभिव्यक्तिका कारण योगेश र ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच सामाजिक सञ्जालमा चलेको जुहारीले पनि एमालेभित्रको गुटगत चलखेल छरपष्ट पारेको थियो । पाँचथरबाट विजयी वसन्त नेम्बाङलाई मन्त्री बनाउन एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्बाङलले लबिङ गरिरहेका छन् ।
ओली एक सहयोगी सुवास नेम्बाङलले वसन्तलाई मन्त्री बनाउनैपर्ने दबाब दिइरहेका छन् । तर, योगेश र भानुभक्तको तुलनामा बसन्तको प्रोफाइल सानो भएको तर्क पनि एमालेवृत्तमा छ ।

प्रदेश २

प्रदेश २ बाट एमाले उपाध्यक्ष वामदेव गौतमका प्रियमध्ये एक रघुवीर महासेठ मन्त्री बन्ने सम्भावना छ । वामदेवले रघुवीर र चार नम्बर प्रदेशबाट रवीन्द्र अधिकारीलाई मन्त्री बनाउनुपर्ने लबिङ गरिरहेका छन् ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोका जुवाइँसमेत रहेका रघुवीरलाई मन्त्री बनाउन अहिले चर्को लबिङ भइरहेको छ ।

प्रदेश ३

प्रदेश ३ बाट काठमाण्डुका कृष्णगोपाल श्रेष्ठ र काभ्रेका गोकुल बास्कोटाले चर्को लबिङ गरिरहेका छन् । कृष्णगोपाललाई ओलीले पार्टी कार्यालय सचिवको पनि जिम्मेवारी दिएका छन् भने बास्कोटा पनि ओलीका निकट नेतामा पर्छन् ।

प्रदेश ३ बाटै काठमाण्डुका रामवीर मानन्धरले पनि मन्त्रीका लागि पहल गरिरहेका छन् । तर, उनलाई कम्तिमा पनि राज्यमन्त्रीमा व्यवस्थापन गर्ने प्रयास थालिएको छ ।

प्रदेश ४
यो प्रदेशबाट यसअघि संविधानसभाबाट रुपान्तरित संसदमा विकास समितिका सभापति भइसकेका कास्कीका रवीन्द्र अधिकारी ओली मन्त्रिमण्डलमा पर्ने सम्भावना बलियो छ । उनलाई पनि मन्त्री बनाउन एमाले उपाध्यक्ष गौतमले नै लबिङ गरिरहेका छन् ।

तर, ओलीले दुवैलाई बनाउन नसकिने बताएको अवस्थामा वामदेवले रवीन्द्र र रघुवीरमध्ये एकलाई रोज्नुपर्ने अवस्था छ । स्याङ्जाकी पद्मा अर्याल पनि मन्त्री बन्ने दौडमा छिन् । गत निर्वाचनमा बहालवाला उपप्रधामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी अर्याललाई पनि सके मन्त्री नसकेमा कम्तिमा राज्यमन्त्रीसम्म बनाउने तयारी गरिएको छ ।

प्रदेश ५
प्रदेश नम्बर ५ बाट यो पटक गुल्मीका गोकर्ण विष्टको मन्त्री बन्ने सम्भावना कम छ । यस्तो अवस्थामा यो प्रदेशबाट गुल्मीकै प्रदीप ज्ञवाली र रुपन्देहीका छबिलाल विश्वकर्मा मन्त्रीको दौडमा अग्रपंक्तिमा छन् । प्रधानमन्त्री कार्यालय मातहत बनाउने भनिएको एउटा शक्तिशाली मन्त्रालयको जिम्मेवारी ओलीले ज्ञवालीलाई दिने सम्भावना छ ।
एमालेमा बौद्धिक नेताका रुपमा परिचित ज्ञवाली एमालेका दस्तावेज लेखनका काममा ओलीका विश्वासपात्र पनि हुन् । तर, विश्वकर्माले पनि आफूलाई मन्त्री बनाइनुपर्ने विभिन्न आधारसहित पार्टी नेतृत्वसँग तीब्र लबिङ गरिरहेका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट ओली मन्त्रिपरिषद्का लागि कुनै नेताको ठूलो चर्चा छैन । यहाँबाट विजयी एकजनालाई राज्यमन्त्री सम्मको जिम्मेवारी दिने चर्चा छ ।
यो प्रदेशमा दैलेख १ र २ बाट एमालेका रवीन्द्रराज शर्मा र राजबहादुर बुढाक्षेत्री विजयी भएका थिए । त्यसैगरी डोल्पाबाट धनबहादुर बुढा र मुगुबाट गोपालबहादुर बम प्रतिनिधि सभामा विजयी भएका थिए ।

प्रदेश ७

यो प्रदेशबाट तीन नेतको नाम चर्चामा छ । डोटीका प्रेम आले, कैलालीका नारदमुनि राना र अछामका भीम रावलको नाम चर्चामा छ । तर, यो पटक भीम रावल मन्त्री बन्ने सम्भावना कम छ ।

यस्तोमा डोटीमा बहालवाला मन्त्री वीरबहादुर बलायरलाई हराएका आले र कैलाली ५ मा तत्काली प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवालाई पराजित गरेका रानाको नाम चर्चामा छ । उनलाई मन्त्री बनाउनका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि लबिङ गरेका छन्।
त्यसैगरी कैलाली ५ का सांसद रानाले आफूले प्रधानमन्त्री पत्नीलाई हराएको भन्दै मन्त्रीका लागि लबिङ गरिरहेका छन् । उनले राज्यको सारा शक्ति लगाउँदा पनि आफूले प्रधानमन्त्री पत्नीलाई हराएको जिकिर गरिरहेका छन्। तर, उनीमाथि विगतमा रातो पासपोर्टको दुरुपयोग गरेको आरोप लागेको छ । ओलीले विवादमा परेका व्यक्तिलाई नलिने बताइरहेका बेला रातो पासपोर्ट काण्डले रानालाई केही अफ्ठेरो पार्ने देखिन्छ । –काठमाण्डु टुडे

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्