Banner Third

ब्राह्मणकी छोरी दलित महिला सदस्यमा विजयी

By Saru Sunar

May 20, 2022

गुल्मी । उनी पोखरेल थरकी (जैसी क्षेत्री) ब्राह्मणकी छोरी हुन्, जो यसपालिको स्थानीय तह निर्वाचनमा गुल्मीको एक वडाबाट ‘दलित महिला सदस्य’मा निर्वाचित भएकी छन् ।झट्ट सुन्दा जैसी ब्राह्मणकी छोरी दलित महिला सदस्यमा कसरी निर्वाचित भइन् भन्ने प्रश्न उब्जिएला । तर उनले दलित महिला सदस्य हुने अधिकार प्राप्त गरेकी छन् ।किनकि उनले दलित समुदायका युवासँग अन्तरजातीय विवाह गरेकी छन् । उनी हुन् गुल्मीको धुर्कोट गाउँपालिका– ६ दूर गाउँकी २१ वर्षीया मिना पोखरेल परियार ।जसले २०७४ सालमा आफ्नै छिमेकी नारायण परियारसँग १६ वर्षको उमेरमा प्रेम विवाह गरेकी थिइन् । त्यस वडामा उनीसहित दलित महिला सदस्यका लागि तीन जना महिलाहरूले उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारका रूपमा मधु दर्जी । नेपाली काङ्ग्रेसबाट पार्वती बिक र नेकपा माओवादी केन्द्रबाट उनै मिना पोखरेल परियार दलित महिला सदस्यका उम्मेदवार थिए । अन्तिम मत परिणाम यस्तो आयो कि स्वतन्त्र उम्मेदवार मधु दर्जीले जम्मा २४ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकी पार्वती विकले ४२६ मत ल्याइन् । माओवादीकी उनै मिना पोखरेल परियारले भने ८९९ मत प्राप्त गरिन् । अर्थात् काङ्ग्रेसकी बिकाई पोखरेल परियारले दोब्बर भन्दा बढी मतान्तरले पराजित गर्दै विजय प्राप्त गरिन् । उनले बिकाई ४७३ मतले पराजित गरेकी हुन् ।यसरी त्यस वडामा सबैभन्दा पलपुर मतले विजयी भएकी मिना पोखरेल परियार भन्छिन्– ‘म त चुनाव लड्न मानेकी थिइन्, पुष्कर सरले कर गरेर निकै हौसला दिनुभयो । उहाँकै प्रेरणाबाट उठेँ । तर जितौँला भन्ने लागेको थिएन र पनि यति धेरै मतले जित्न पुगेँ । निकै खुसी लागेको छ ।’ उनले छिमेकी शिक्षक तथा पत्रकार पुष्कर खड्काको प्रेरणामा आफूले जनप्रतिनिधि हुने अवसर पाएको भन्दै खड्कालाई धन्यवाद दिइन् । शिक्षक तथा प्रेस सेन्टर नेपालका सदस्य समेत रहेका पुष्कर खड्का भन्छन्, ‘मिनाले छिमेकमै अन्तरजातीय विवाह गरेर सदियौँदेखि जातीय विभेदको जन्जिर तोड्दै समाजको सामना गरिन् । त्यसयता पनि उनले महिलामाथि र दलितमाथि हुने अन्याय, अत्याचारविरुद्ध महिलाहरूलाई सङ्गठित गर्दै सशक्त ढङ्गले सामाजिक सेवा सक्रियता देखाइरहिन् ।जातीय रूपमा कुनै समय कट्टर मानिएका उनका माइती जैसी ब्रम्हण पोखरेल परिवारबाट दलितका छोरासँग विवाह गर्दा उनले खासै ठुलो चुनौती मोल्नु परेन । धुर माविमै कक्षा १० मा पढ्दापढ्दै उनको नारायण परियारसङ विवाह भएको थियो । मिना भन्छिन्– ‘धुर माविमै पढ्दा देखि नै मैले माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सदस्यता लिएकी थिएँ । क्रमशः माओवादीको राजनीति निकै मन प¥यो, सङ्गठित हुँदै गएँ । अहिले वडा सदस्यमा धेरै मतान्तरले जितेपछि आगामी दिनमा अझ माथि पुग्छु कि भन्ने हौसला जागेको छ ।’गुल्मीमा अहिलेसम्म प्राप्त जानकारीअनुसार उनी सबैभन्दा कान्छी विजयी उम्मेदवार पनि हुन् । उनको वडामा उनको पार्टी माओवादी केन्द्र र एमाले बीच गठबन्धन हुँदा एमालेका कृष्ण नेपालीले पुनः वडाध्यक्ष जितेका छन् । प्रेम सुनारले लेखेको समाचाचार new 24 बाट साभार गरिएको हो