स्थानीय चुनाव : ओली जहाँ-जहाँ पुगेर भाषण गरे, त्यहाँ-त्यहाँ हार्‍यो एमाले



काठमाडौं । गत बैशख ३० गते भएको स्थानीय तह निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी छ । धेरै तहको आइसकेको छ भने बाँकीको पनि छिट्टै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । ०७९ सालको निर्वाचनको नेपाली काँग्रेस विजयी र अग्रतामा अगाडि छ भने एमाले र माओवादीले पछ्याइरहेका छन् ।

यस पटक नेपाली काँग्रेस पाँच दलीय गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको थियो । गठबन्धनले देशका दुई सय स्थानीय तहमा मात्र तालमेल गरेका थिए ।

अन्य स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गरेका थिए । एमाले भने भुरेटाकुरे १० वटा दलसँग तालमेल गरेर चुनावमा होमिएको थियो । एमाले अध्यक्ष केपी ओली एक्लै विभिन्न जिल्लामा चुनावी सभामा भाषण गर्न पुगेका थिए ।

उनी जहाँ जहाँ गएर चुनावी सभामा भाषण गरे, ती सबै ठाउँमा एमालेले पराजय बेहोरेको छ । ओली विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौँडा, पोखरा, भरतपुर, बुटवल, धनगढी, महेन्द्रनगर जस्ता ठुलो सहरमा चुनावी सभामा पुगेका थिए । तर, उनी गएका सहरमा एमालेले कतै पनि चुनाव जितेको छैन ।

पोखरा, धरान, जनकपुर, वीरगन्ज, भरतपुरको मत परिणाम आउन बाँकी छ । यी स्थानीय तहमा पनि एमालेले चुनाव जित्न सकेन । स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म झन्डै सात सय स्थानीय तहको नतिजा आइसकेको छ । मत परिणामअनुसार काँग्रेसले तीन सय ६ स्थानीय जितेर आफूलाई पहिलो दलका रूपमा उभ्याएको छ ।

अघिल्लो स्थानीय निर्वाचनमा काँग्रेसले दुई सय ६६ स्थानीय तह जितेर दोस्रो दलमा झरेको थियो । यस पटक अघिल्लो निर्वाचनको पहिलो दल एमालेलाई दोस्रोमा झार्दै काँग्रेस पहिलो दल बन्न सफल भएको छ ।

सात सय ५३ मध्ये काँग्रेस एक्लैले जितेको स्थानीय तह एमाले र माओवादी केन्द्रको जोड्दा जति पुगेको छ । यस पटक काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ निर्णयका कारण दुई सय स्थानीय तहमा भए पनि गठबन्धनबिच तालमेल भएको थियो । जसले काँग्रेसलाई धेरै फाइदा पुग्न गयो ।

भलै काँग्रेसले अघिल्लो निर्वाचनमा जितेका केही स्थानीय तह गुमाए पनि अघिल्लो एमालेले जितेका स्थानीय तहको रेकर्डलाई काँग्रेसले यस पटक ब्रेक गरेको छ ।

काँग्रेसले अहिलेसम्म देशभर ४४ प्रतिशत स्थानीय तहमा जित हासिल गरेको छ । यो नतिजाले काँग्रेसलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जान निकै सहज भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्