‘जातीय विभेद अन्त्य गर्छु’



लुम्बिनी — उनी निर्धक्क आफ्नो कुरा राख्छिन् । गाउँघरमा आइपर्ने समस्याका समाधान खोज्ने बानी छ । पाँच वर्षअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी थिइन् । ‘त्यति बेला मतदाताको विश्वास जित्न सकिनँ,’ उनले भनिन, ‘यस पटक त्यही पदमा उम्मेदवारी दिएर चुनाव पनि जितेँ ।’
पाँच वर्षअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाकी २९ वर्षीया कल्पना हरिजन तत्कालीन माओवादीबाट उम्मेदवार बनेकी थिइन् । यस पटक एमालेबाट चुनाव जितेकी हुन् । दुई वर्षदेखि गरेको मिहिनेत सार्थक बनेको उनले बताइन् । ‘मेरो परिवारको राजनीतिक इतिहास छ,’ उनले भनिन्, ‘त्यही पृष्ठभूमिमा रहेर मैले राजनीति र सामाजिक कार्यलाई जोडेँ ।’
विवाह भएर लुम्बिनी आएपछि त्यहाँका पिछडिएका महिलालाई शिक्षामा अघि बढाउन कोसिस गरेको बताइन् । पदमा नहुँदा पनि सामाजिक काम गर्दै आएकाले स्थानीय बासिन्दासित घुलमिल भएको उनको भनाइ छ । गत स्थानीय निर्वाचनमा उनी चौथो स्थानमा थिइन् । तत्कालीन माओवादी र एमालेबिच एकीकरण भएपछि लुम्बिनीमा एमालेको सङ्गठन विस्तारका लागि धेरै कसरत गरेको उनले बताइन् । ‘त्यसैले टिकट पाउन गाह्रो भएन,’ उनले भनिन्, ‘जातीय विभेदका कारण धेरै अवसर गुमाएँ । यस पटक चुनाव जितेपछि विभेदविरुद्ध काम गर्ने अवसर मिलेको छ ।’
दलित समुदायकी भएकाले उपप्रमुख बनेपछि ‘लाज हुन्छ, इज्जत जान्छ’ भनेर हतोत्साहित गरिएको उनले बताइन् । ‘यसअघि जनताको मन जित्दाजित्दै चुनाव हारेँ,’ उनले भनिन्, ‘यस पटक जितेँ, अब अघि बढ्न जातले छेक्दैन, काम गरेर साबित गर्छु ।’
चुनावी भेटघाटका क्रममा पानी पिउँदा, अङ्कमाल गर्दा र हात मिलाउँदा आफूलाई असहज लाग्ने गरेको उनले बताइन् । ‘सुरुसुरुमा यसरी घुलमिल भएर मत माग्दा डर लाग्थ्यो,’ उनले भनिन्, ‘अझै पनि जातीय भेदभाव छ । जसले गर्दा डर लाग्थ्यो ।’ जातका आधारमा छुवाछूत गर्नु हुँदैन भन्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताइन् । स्वच्छ, सफा र पर्यटक आउँदा रमाउने लुम्बिनी बनाएर महिलाका लागि स्वरोजगार सिर्जना गर्ने उनको योजना छ ।
साभार : कान्तिपुर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्