राप्ती गाउँपालिकाका ७ जना वडा अध्यक्षद्वारा एकै दिन पदभार ग्रहण, कृषि, स्वास्थ्य, शिक्षा र पुर्वधारको कामलाई पहिलो प्राथमिकता 



सिसहनियाँ ९ जेठ । स्थानीय तहमा निर्वाचित देशैभरका जनप्रतिनिधिहरूले शपथ ग्रहण सँगै आफ्नो कार्यभार ग्रहण गरिरहेका छन् । अघिका जनप्रतिनिधिको पदावधि सकिए सँगै मतगणना सम्पन्न भएका स्थानमा शपथ ग्रहण सँगै पदभार ग्रहण गरेका छन् । 

यस्तै स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित राप्ती गाउँपालिकाका ७ वटा वडाका वडा अध्यक्षहरूले एकै दिन पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्नेहरूमा वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी ( अनुप ), वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष दीपककुमार चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चौधरी र वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ रहेका छन् ।

पदभार ग्रहण गर्ने वडा अध्यक्षहरूले कृषि, स्वास्थ्य, शिक्षा र पुर्वधार विकासको योजनालाई महत्त्व दिएर काम गर्ने बताएका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ बाट स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष गेमबहादुर खड्काले गाउँको विकासमा आफू निरन्तर जुट्ने बताए ।

आफ्नो सुरुवाती चरणमा असहाय अपाङ्गता भएमा  ब्यक्तीले वडाबाट पाउने सेवा सुविधालाई घर घरमा पुयाउने र आर्को जटिल समस्या दाङ जिल्लाको  प्रवेशद्वार भालुबाङको राप्ती नदीमा भएको फोहोर र भालुबाङ बजारमा भएको फोहोरलाई व्यवस्थापन गर्नेमा आफू लाग्ने बताए । यस्तै पुराना जनप्रतिनिधिका अधुरा कार्य पनि पुरा गर्दै जाने बताए । यस्तै वडा नम्बर २ का वडा अध्यक्ष अनुप चौधरीले जनताहरूलाई छिटो र छरितो सेवा दिने बताए । 

वडा नम्बर ४ का अध्यक्ष वीर बहादुर चौधरीले सेवाग्राहीहरूलाई नमस्कार बाट स्वागत गर्ने र विना झन्झट कार्यालयबाट मुस्कान सहितको सेवा प्रवाह गर्ने बताए । वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चौधरीले कार्यालयमा सेवाग्राहीलाई फोटोकपी निःशुल्क गरिदिने र सहज तरिकाले सेवा प्रवाह गर्ने बताए । 

वडा नम्बर ६ का अध्यक्ष दीपककुमार चौधरी विद्यालयहरूमा शुद्ध खानेपानी, समयमा मल खाँद र स्वास्थ्यमा विशेष ध्यान दिने बताए । वडा नम्बर ७ का अध्यक्ष सिताराम चौधरीले लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा अवस्थित कृषिको मुटु मानिने राप्ती गाउँपालिका वडा नम्बर ७ को साझा समस्याको रूपमा रहँदै आएको सिचाई प्रणाली व्यवस्थालाई थप सुधार र सहज बनाउने साथै साबिक  सिसहनियाँ कुलोको मुहानबाट चिरुवा कुलो बनाई उक्त कुलोको मुहानलाई पचहा कुलोको मुहान सम्म निर्माण गर्ने बताए । 

र वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ सेवाग्राहीलाई प्रविधिमैत्री सेवा प्रवाह गर्ने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्