विश्व शान्तिका लागि शिवसवरी धाम पहरूवामा आज ३ करोड बढी बत्ती प्रज्वलन गरिदै



सिसहनियाँ। विश्व शान्तिका लागि शिवसवरी धाम धार्मिक केन्द्रमा आज ३ करोड बढी बत्ती प्रज्वलन गरिने भएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको राप्ती उपत्यका देउखुरी अन्तरगत राप्ती गाउँपालिका ५ पहरूवामा अवस्थित सो धार्मिक केन्द्र ९ आैँ वर्षमा प्रवेश गरेको अवसरमा ३ करोड बढी बत्ती प्रज्वलन गरिन लागेको धार्मिक केन्द्रकी संरक्षक शिवलक्ष्मी चौधरिले जानकारी गराएकी छिन् ।

कार्यक्रममालाई आज दिउँसो २ बजे राप्ती गाउँ पालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रमुख कथा बाचक शिरोमणि पण्डित दीपक प्रसाद पौडेलले संयुक्त रूपमा बत्ती प्रज्वलन गरी उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
आज देखि जेठ २५ गते सम्म सञ्चालन हुने कार्यक्रममा दैनिक बिहान ८ बजे देखि ९ बजे सम्म पूजापाठ, बिहान १० देखि ४ बजे सम्म र बेलुका ८ देखि राति १० बजे सम्म प्रमुख कथा बाचक शिरोमणि पण्डित दीपक प्रसाद पौडेलद्वारा सङ्गीतमय कथा वाचन, झाँकी, आरती रहने छ ।

कार्यक्रममा ५ हजार बढी दान गर्नेलाई खाँदा, फूल माला र सम्मान पत्रले सम्मान गरिने छ भने आजीवन सदस्यता लिन चाहनेका लागि रु ३ हजार बुझाएर सदस्य बन्न सकिने बताइएको छ ।

यसै बिच कार्यक्रमको तयारी समेत पूरा भएको छ । प्रचार गर्ने, स्वागत गेट निर्माण, मञ्च व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भएको कार्यक्रममा प्रचार प्रसार संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

आज भन्दा ९ वर्ष अगाडि आफूमा दैविय शक्ति प्राप्त भएको बताउँदै यहाँ आउने जो कोहीले पनि गङ्गा स्नान र पूजापाठ गरे आफूले चिताएको कुरा पूरा हुने र विभिन्न किसिमका रोग व्याधि सन्चो हुने बताएकी छिन् ।

सो धार्मिक केन्द्रमा स्वर्ग प्राप्तिका लागि गङ्गा सागर, सागर घाट, विश्वको अग्लो त्रिशूल, १०८ वटा धारा, ५७ वटा शिव लिङ्ग, ३३ कोटी होम कुण्ड, कैलाश पर्वत, शिव मन्दिर, भोलेनाथको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, सौणाकोट बाबाको मन्दिर, प्रभुको लुकामारी, प्रभुको गुफा, भगवती देवीको मन्दिर, गोवर्धन पर्वत, सन्तोषी माताको मन्दिर, हनुमानको मन्दिर, विष्णु भगवानको धुना, बुद्ध भगवानको धरहरा, सुपादेउराली दर्शन, राम भगवानको कुट्टी, विष्णु भगवानको पोखरी र शिवघाट रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्