प्रचण्ड पुत्री रेणुलाई नेकपाले दियो राजनामा पत्र



२ चैत्र
चितवन । नेपाल कम्युनिस्ट पार्टी जनपरिषद चितवनले सबै जनप्रतिनिधिलाई राजिनामा गर्न उर्दी जारी गरेको छ ।

भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालसहित जिल्लाका सबै स्थानीय प्रतिनिधिका कार्यालय र घरमा राजिनामा पत्र पुगेको छ ।
जिल्ला जनपरिषद् प्रमुख नवराज पौडेलले हस्ताक्षर गरेको पत्र शुक्रबार चितवनका सबै स्थानीय तहका जनप्रतिनिधिको हातहातमा पुर्याएको छ ।

त्यसैगरी चितवनको एउटामात्र महानगरपालिकाकी मेयर रेणु दाहाललाई भने विहीबार नै पत्र पठाएको बताइएको छ । पत्रमा सरकारले लोकतन्त्रको नाममा फासिवाद अभ्यास, आस्थाका भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छली, महिला बेचविखनलाई नियन्त्रण गर्न नसकेको कारण राजिनामा गर्न भनिएको छ ।

“वाम गठबन्धनको नाममा सरकार निर्माण गरिएको छ । कथित वाम सरकारले सार्वजनिक ठाउँमा सभा सम्मेलन गर्न रोक लगाएको छ ।
आस्थाका आधारमा दमन धरपकड गरेको छ । सरकाले लोकतान्त्रको नाममा फासिवादको अभ्यास गरिहेको छ । हाम्रो देशमा यो वर्ष जनताहरुको गरिबी बढ्यो ।

देशको व्यापार घाटा चुलिँदै गएको छ । मानव बेचबिखन विशेषतः महिला बेचबिलन बढिरहेको छ । भ्रष्टाचारले देश बर्बाद हूँदै गएको छ । दलालीकरणको सीमा छैन । करछली र मुनाफा सोहर्ने अनि पैसा विदेश लैजाने क्रम ह्वात्तै बढेको छ । सामाजिक असुरक्षा एकदमै बढेको छ” राजिनामा पत्रमा उल्लेख छ । पौडेलले जनताका समस्याको समाधान गर्न वैकल्पिक सत्ता स्थापना भइसकेको बताउँदै त्यसलाई स्वीकार गरेर राजिनामा गरी सहयोग गर्न आग्रह गरेका छन् । उनले अन्यथा वर्ग संघर्षको निशाना बनी निस्कने परिणामको भागिदार आफै हुनुपर्ने चेतावनी समेत दिएका छन् ।

राजिनामा पत्रमा भनिएको छ, “जनविरोधी दलाल संसदीय सत्ताको प्रतिनिधि बनेर जनताको नजरमा कलंकित बन्नुको सट्टा आफ्नो पदीय ओहदाबाट राजिनामा दिई जनपरिषदलाई वैकल्पिक जनसत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्माणमा सहयोग गर्न यसपत्रमार्फत आग्रह गरिन्छ । अन्यथा वर्गसंघर्षको निशाना बनी निस्कने परिणामको जिम्मेवारी स्वंम हुनुपर्ने कुरा शालिनतापूर्वक जानकारी गराइन्छ ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्